१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

आज छठ पर्वको खरना सम्पन्न



गौर ।

छठ पर्वअन्तर्गत आज खरना विधि सम्पन्न भएको छ।

छठको दोस्रो दिन व्रतालुले छठीसहित इष्टदेवलाई पूजा गरी खरना विधि सम्पन्न गरेका छन्।

व्रतालुले माटोको नयाँ चुलो र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र चामलबाट बनेको खीर खरनामा नैवेद्य चढाउँछन्। खरनामा छठ पर्वको मुख्य दिन चढाउने अर्घ जति स्थानमा केराको पातमाथि नैवेद्य चढाउनुपर्ने हुन्छ।

खरनामा नैवेद्यमा खीर, दूध, केरा, मूला, अदुवा, पान र सुपारी आदि चढाइन्छ। नैवेद्यलाई केराको पातमा राखेर छठीमातासहित इष्ट देवतालाई चढाइन्छ। 

नैवेद्यलाई उत्सर्ग गरिसकेपछि व्रतालु र परिवारजनले प्रसाद लिन्छन्। योसँगै दिनभर निराहार उपवास बसेकी व्रतालुले नुनरहित खरना खान्छन्। त्यसको करिब ३६ घण्टाभन्दा बढी समय निराहार बस्छन्। खरनालाई छठ पर्व आस्था र निष्ठाका साथ सम्पन्न गर्ने संकल्प गर्ने विधिरुको रुपमा समेत मानिन्छ।

छठ अन्तर्गत भोलि दिउँसोदेखि नै प्रसाद छठ घाटमा राखिने र अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिने चलन छ। पर्सि (मंगलबार) बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिएर छठ व्रत समापन गरिन्छ। सोही दिन व्रतीले ३६ घण्टाको कठोर उपवासपछि खाना खान्छन्, जसलाई परना भनिन्छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२ आइतबार ००:००  ९ : ०४ बजे