३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

भर्लाबासदेखि काठमाण्डौंसम्म नियमित रात्रि बस सेवा सुरु



बाबुराम रायमाझी, जितपुर ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–९ भलवाड भर्लाबासदेखि देशको राजधानी काठमाण्डौंसम्मको लागि नियमित रात्रि बस सेवा सञ्चालनमा आएको छ। ग्रामीण क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणका लागि यातायातको सहज पहुँच सुनिश्चित गर्न उद्देश्य राखी सारथी बस सेवाले शुक्रबारदेखि औपचारिक रूपमा यो सेवा सुरु गरेको हो।

भर्लाबास बसपार्कमा आयोजित एक संक्षिप्त उद्घाटन कार्यक्रमका बीच स्थानीय प्रतिनिधि, व्यवसायी, सामाजिक अभियन्ता तथा सारथी बस सेवाका सञ्चालकहरूको उपस्थितिमा बस सेवाको औपचारिक शुभारम्भ गरिएको थियो। कार्यक्रममा वक्ताहरूले ग्रामीण क्षेत्रका यात्रुहरूलाई सहज, सुरक्षित र भरपर्दो यात्राको विकल्प उपलब्ध गराउन यो सेवा महत्वपूर्ण हुने बताएका थिए।

सारथी बस सेवाका अनुसार वाणगंगा–९ भलवाड भर्लाबासबाट बस हरेक साँझ ५ः३० बजे प्रस्थान गरी जिनुवा–बनगाई–बुटवल हुँदै काठमाण्डौंसम्म सञ्चालन हुनेछ। काठमाण्डौंबाट फर्कने बस पनि सोही मार्ग हुँदै नियमित रूपमा सञ्चालन हुने जनाइएको छ। यात्रुहरूको सहजताको लागि टिकट बुकिङको व्यवस्था स्थानीय स्तरमै गरिएको छ।सञ्चालक समितिका अनुसार यात्रुको माग र प्रतिक्रियाका आधारमा आगामी दिनमा थप सेवा विस्तार गर्ने योजना रहेको छ। स्थानीय बासिन्दाहरूले यस सेवाबाट भलवाड, जिनुवा, बनगाई लगायतका क्षेत्रका यात्रुहरूलाई बुटवल र काठमाण्डौं पुग्न सहज हुने बताउँदै प्रशंसा गरेका छन्।

प्रकाशित मिति : १२ कार्तिक २०८२ बुधबार ००:००  ११ : ४६ बजे