बाँके ।
बाँकेको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण सम्पन्न भएको छ । तोकिएको समयअघि निर्माण सकिएको टर्मिनल भवन केही दिनमा नेपालगञ्ज विमानस्थल टर्मिनल भवन आयोजनालाई हस्तान्तरण गर्ने तयारी छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आज नेपालगञ्ज विमानस्थलमा निर्माण सम्पन्न भएको टर्मिनल भवनको निरीक्षण गर्नुभयो । उहाँले छिट्टै यो टर्मिनल भवन सञ्चालनमा आउने गरी काम भइरहेको जानकारी दिनुभयो ।
महानिर्देशक अधिकारीले उडानको सन्दर्भमा नेपाल र भारतबीच छलफल भइरहेको पनि बताउनुभयो । नेपालगञ्ज विमानस्थल टर्मिनल भवन आयोजनाका प्रबन्धक नलविक्रम थापाले म्याद सकिनुभन्दा झन्डै डेढ महिनाअघि निर्माण कम्पनीले काम पूरा गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार यो टर्मिनल भवनको लागत २ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । शर्मा एन्ड कम्पनीका अध्यक्ष एवम् प्रबन्ध निर्देशक रमेश शर्माले अन्तर्राष्ट्रिय उडानसमेत गर्न मिल्ने गरी काम भएको बताउनुभयो ।
अत्याधुनिक प्रविधि र सुविधा समेटिएको भवनले ‘पिकआवर’ मा प्रतिघण्टा १ हजार ६ सय जना यात्रुलाई सेवा दिन सक्ने अनुमान छ ।







प्रतिक्रिया