कपिलवस्तु ।
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा विजयनगर गाँउपालिका जिल्लामै प्रथम बन्न सफल भएको छ । विजयनगर गाउँपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा ९५ अंक प्राप्त गर्दै जिल्लाका स्थानीय तहहरू मध्ये सर्वोत्कृष्ट बनेको हो । वित्तीय सुशासन, पारदर्शिता र उत्तरदायित्वका सूचकहरूमा उत्कृष्ट प्रदर्शन गरे वापत गाउँपालिकालाई प्रशंसा-पत्र प्रदान गरिएको छ । गाउँपालिकाले निरन्तर वित्तीय अनुशासन र सुशासन प्रवर्द्धन गर्दै आगामी वर्षहरूमा पनि थप उपलब्धी हासिल गर्ने विश्वास व्यक्त गरिएको छ ।
जिल्ला समन्वय समिति कपिलवस्तुले उत्कृष्ट उपलब्धी हासिल गरेकाले गाउँपालिका लाई प्रशंसा-पत्रले सम्मान गरेको छ । आइतबार जिल्ला समन्वय समितिको आठौ जिल्ला सभा बैठकले पालिकालाई प्रशंसा-पत्रले सम्मान गरेको हो ।
प्रमुख आचार्यलेले विजयनगर गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी र प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजाललाई साे प्रशंसा-पत्र हस्तान्तरण गरेका हुन् ।
जिल्ला समन्वय समिति कपिलवस्तुको आठौँ जिल्ला सभा बैठकबाट आर्थिक वर्ष २०८२-०८३ को लागि निति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख तथा सभा अध्यक्ष बाबुराम आचार्यले निति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए । यस्तै जिल्ला समन्वय समिति अधिकारी जनार्दन अधिकारीले बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
जिल्ला सभा बैठकमा कपिलवस्तुका पालिकाहरुको प्रमुख तथा सभा सदस्यहरुको उपस्थिति थियो। यसैगरी बाणगंगा नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा ८९.७५ अंक प्राप्त गर्दै देशभरका सबै स्थानीय तहमध्ये आठौँ स्थान हासिल गर्न सफल भएको छ ।







प्रतिक्रिया