१७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

बुड्डी ताल विकासमा पाँच वर्ष ढिलाइः बुद्धभूमि नगरको ठेकेदारलाई अन्तिम चेतावनी



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका–४ स्थित महत्वपूर्ण पर्यटकीय स्थल बुड्डी तालको विकास निर्माणमा निरन्तर ढिलाइ भएपछि नगरपालिकाले ठेकेदार कम्पनीलाई कडा चेतावनी दिएको छ।

आर्थिक वर्ष २०७७/७८ मा डिपिआर तयार भई २ करोड ८० लाख रुपैयाँमा प्रतिष्ठा रमिता जय अम्बे जेभीसँग सम्झौता भएको ताल विकासको काम पाँच पटक म्याद थपिँदासमेत पूरा हुन सकेको छैन।

यसै विषयमा नगरपालिकाले ठेकेदार, सरोकारवाला तथा स्थानीय प्रतिनिधिहरूसँग विशेष छलफल गर्दै तत्काल काम सम्पन्न गर्ने निर्देशन दिएको हो।

छलफलमा बोल्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले ठेकेदारको लापरवाहीका कारण स्थानीयस्तरमा गम्भीर असन्तुष्टि पैदा भएको बताउनुभयो । उहाले भन्नुभयो, “वर्षौसम्म बहानामात्र देखाएर काम नगर्दा नगरपालिकाको छवि नै प्रभावित भएको छ। अब कुनै हालतमा ढिलाइ स्वीकार्य हुँदैन।”

उहाँले ठेकेदार पक्षका प्रतिनिधि प्रकाश खनाललाई १ महिनाभित्र काम पूरा गर्न निर्देशन दिँदै म्यादभित्र काम नसकिए कम्पनीलाई कालोसूचीमा राखिने चेतावनी दिनुभयो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव भट्टराईले पाँचौं पटक म्याद थप्दा पनि काम अगाडि नबढेको भन्दै अब एक महिनाभित्र काम सम्पन्न नभए ठेक्का रद्द गर्ने, भुक्तानी रोकिने र कम्पनी कालोसूचीमा राखिने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो — “अब कुनै बहाना चल्दैन। आवश्यक परे म स्वयं सरुवा भएर जान तयार छु तर काम अवरुद्ध हुन दिइँदैन।” कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष रोम बहादुर थापा क्षेत्रीले ठेकेदारको चरम लापरवाहीका कारण नगरपालिका संगै सबै जनप्रतिनिधीको बदनाम भएको बताउनुभयो । विभिन्न बहाना देखाउँदै ठेकेदारले काम लम्बाउने गरेको भन्दै अब सैह्य नहुने चेतावनी दिनुभयो, थापाले भन्नुभयो, देशमा ठेकेदारकै कारण धेरै जनप्रतिनिधीले बदनामी खेप्नु परेको छ सामाजिक संजालमा विभिन्न नकरात्मक टिप्पणी आउने गरेका छन् । थापाले काम गर्न नसक्ने भए तुरुन्त सम्झौता रद्धगरी कालोसुचीमा राख्नेगरी कदम चाल्ने चेतावनी दिनुभयो । कामगरी खाने मजदुरको रकम नदिएकोमा थापाले तत्काल मजदुरको पारिश्रमिक भुक्तानीका लागि आग्रह गर्नुभयो । वडा नम्बर ४ का वडा अध्यक्ष सुसिल चौधरीले ठेकेदारको लापरवाहीकै कारण आयोजना अस्तब्यस्त बनेको बताउनुभयो ।
यस्तै पूर्ण वडा अध्यक्ष पवन थारुले स्थानीय मजदुरको पारिश्रमिक नदिएकै कारण स्थानीयले काममा अवरोध गरेको भन्दै श्रमिकको रकम भुक्तानी भएमा काम सुचारु हुने बताउनुभयो । सबैको साथ र सहकार्यबाट मात्र नगर समृद्ध बन्ने उहाको भनाई छ ।


काममा ढिलाइ निरन्तर भइरहेकाले स्थानीय स्तरमा असन्तुष्टि चुलिएको छ। ताल क्षेत्रमा गरिएको कामको भुक्तानी नदिएको भन्दै स्थानीयले केही समयदेखि काम गर्न पनि नदिएको नगरपालिकाले जनाएको छ। छलफलमा वडा नं. ४ का वडाध्यक्ष सुशिल कुमार चौधरी, वडा नं. ५ का वडाध्यक्ष रोमबहादुर थापा, समाजसेवी धु्रव न्यौपाने, पवन चौधरी, रवि ठाकुर, नगरका कर्मचारी तथा सञ्चारकर्मीको उपस्थिति थियो।
बुड्डी ताललाई बुद्धभूमी नगरपालिकाले गेम चेञ्जर प्रोजेक्टको रूपमा लिएको छ। परियोजना सम्पन्न भए पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी तथा आर्थिक गतिविधिमा ठूलो लाभ हुने नगरपालिकाको विश्वास छ।

प्रकाशित मिति : ३० कार्तिक २०८२ आइतबार ००:००  ७ : १० बजे