१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

फोहर व्यवस्थापनदेखि सडक–खानेपानीसम्म चुनौतीका बीच नगरको विकास रोकिँदैन्ः मेयर श्रेष्ठ



दिपा महत, बुद्धभूमि ।

बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले फोहर व्यवस्थापन, खेलमैदान, सडक तथा खानेपानीलगायतका क्षेत्रमा देखिएका चुनौतीका बाबजुद पनि विकासका कामलाई अवरुद्ध हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासंघले आयोजना गरेको सार्वजनिक सुनुवाईमा बोल्दै मेयर श्रेष्ठले यस्तो बताउनुभएको हो । श्रेष्ठले नगरको भौगोलिक जटिलता, सार्वजनिक जग्गाको अभाव तथा वन कानुनका कारण काममा ढिलाइ भए पनि सरकारले तोकेको लक्ष्यअनुसार अघि बढिरहेको स्वष्ट पार्नुभयो ।
नगरप्रमुख श्रेष्ठका अनुसार डम्पिङ साइटका विषयमा बारम्बार प्रश्न उठे पनि वन कानुन र जग्गा उपलब्धताले बाधा पुर्‍याएका कारण फोहर व्यवस्थापनमा समस्या देखिएको बताउनुभयो । “जंगलले फोहर व्यवस्थापनका लागि जग्गा दिन सहज छैन, नगरपालिकासँग पनि तत्काल प्रयोग गर्नुपर्ने सार्वजनिक जग्गा पर्याप्त छैन उहाँले भन्नुभयो ।”
खेलमैदान निर्माणका लागि पनि उचित स्थान नपाइरहँदा नगर वन कार्यालयसँग समन्वयमा रहेको उहाँले बताउनुभयो । खानेपानी योजनामा समेत विवाद र प्राविधिक चुनौतीका कारण केही ढिलाइ भए पनि वडा नं. ४ मा ओभरहेड ट्यांकी निर्माण अब तीव्र गतिमा अघि बढ्ने जानकारी दिनुभयो ।
छाडा पशुचौपायाले नगरमा ठूलो समस्या उत्पन्न गरेको उल्लेख गर्दै मेयर श्रेष्ठले भन्नुभयो, “नगरपालिकाले मात्र यो समस्या समाधान गर्न सक्दैन, सम्पूर्ण नागरिकको सहयोग आवश्यक छ ।” छाडा चौपाया व्यवस्थापनका लागि जंगल क्षेत्रमा संरचना बनाउन खोज्दा कानुनी मुद्दासमेत खेप्नुपरेको उहाँले जानकारी दिनुभयो । गब्दहवा जाने बाटोमा १०–१५ लाख खर्च भइसके पनि प्रयोगमा ल्याउन नपाइएको मेयरको गुनासो छ ।
बुड्ढी–गेलवार–रनगाई सडकमा लुम्बिनी प्रदेशको ४० लाख बजेट परेको भन्ने जनविश्वास गलत भएको स्पष्ट पार्दै उहाँले उक्त सडकका लागि संघीय सहरी विकास मन्त्रालयबाट ३ करोड रुपैयाँ बिनियोजन भए पनि हाल सरकारी निर्णयअनुसार काम होल्ड भएको बताउनुभयो । त्यस्तै, टिक्कर–बुड्ढी–बिजगौरी सडकका लागि संघ र नगरको संयुक्त १९ करोड लागतमध्ये १० करोड नगरको रहने र ठेक्का सम्झौता प्रक्रिया सुरु भइसकेको भएपनि यो काम पनि संघीय स्तरको स्थगनसँगै रोकिएको बताउनुभयो ।
सामाजिक सञ्जालमा हचुवाका टिप्पणीले विकासमा निरन्तर लागिरहेकालाई नै हतोत्साहित बनाएको मेयर श्रेष्ठको भनाइ छ । उहाँले बुड्ढी तालको भुक्तानी भएको भन्ने हल्ला पूर्णतः भ्रम रहेको स्पष्ट पार्दै नगरपालिका पारदर्शिता र जवाफदेहीतामा प्रतिबद्ध रहेको प्रष्ट पार्नुभयो ।
शिक्षाको क्षेत्रमा समेत नगर सक्रिय रहेको उल्लेख गर्दै मेयर श्रेष्ठले गत वर्ष मात्रै तीन विद्यालयमा चार–कोठे भवन निर्माण गरिएको जानकारी दिनुभयो ।
पहिलो चौमासिकमा विकास–निर्माणका काम अपेक्षित रूपमा हुन नसकेको स्वीकार गर्दै जेन्जी आन्दोलन, चाडपर्व तथा विभिन्न अवरोधका कारण पुजीगत खर्च प्रभावित भएको बताउनुभएको छ ।
भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा जनप्रतिनिधीको घरमै तोडफोड गर्न खोजिएको घटनाप्रति गम्भीर चिन्ता जनाउँदै मेयर श्रेष्ठले इमान्दार प्रतिनिधीलाई नै बदनाम गर्ने प्रयास गरिनु दुःखद भएको टिप्पणी गर्नुभयो । “इमान्दारीका साथ काम गर्दा पनि लगाइएका आरोप प्रमाणित गर्नुस, म सजाय भोग्न तयार छु, घर हान्न आउनु पर्दैन, उहाँले चुनौतीपूर्ण शैलीमा भन्नुभयो ।”
मेयर श्रेष्ठले आफ्नो घर आक्रमण गर्ने प्रयत्नलाई राजनीतिकरण गरिएको आन्दोलनको उपज भन्दै त्यसले परिवारसम्म जोखिममा पार्ने काम भएको बताउनुभयो । “यो घर मेरो मात्र होइन—बा, आमा, छोरा, बुहारी, श्रीमती सबै बसेको घर हो, त्यहाँ पनि हाम्रा जेन्जी छन् त्यो घर बनाउदा अहिलेका जेन्जी जन्मेकै थिएनन् त्यो घर कसैको करको पैसाले बनाएको घर भनेर आरोप लगाउनु अन्याय हो, उहाँले भन्नुभयो ।”
उहाँका अनुसार यस्ता क्रियाकलापले स्थानीय तहमा इमान्दारीपूर्वक काम गर्न चाहने जनप्रतिनिधी र व्यक्तिहरूको मनोबल कमजोर बनाउने काम भएको छ । समाजका लागि केही गर्नेहरू नै निरुत्साहित भइरहेका भन्दै यसले विकासमा असर पर्ने मेयर श्रेष्ठको को भनाइ छ ।

प्रकाशित मिति : १ मंसिर २०८२ सोमबार ००:००  ५ : ३३ बजे