१७ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

उद्योग मन्त्रालयको निर्देशन अटेर गर्ने हनुमान इट्टा उद्योग विरुद्ध उच्च अदालतमा रिट



दाङ ।
दाङ जिल्लामा रहेको इट्टा उद्योगले पुस मसान्तपछि मात्रै इट्टा पोल्ने कार्य गर्नुपर्नेमा मंसिरकै महिनामा आगो लगाउने कार्य गरेको भन्दै रोक्न माग गर्दै अधिवक्ता अधिवक्ता विकास आचार्यले उच्च अदालत तुलसीपुरमा रिट दर्ता गराएका छन् ।

उनले नेपाल सरकार उद्योग मन्त्रालयले गरेको पत्राचार विपरीत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको जय श्री हनुमान फिक्स चिम्नी इट्टा उद्योगका सञ्चालक गणेश घर्ती नगर र मनकुमारी घर्तीले फाइरिङ गरेको भन्दै त्यसलाई रोक्न माग गर्दै रिट दायर गरेका हुन् ।

उक्त उद्योगले मंसिरको महिनामै फाइरिङ गर्दा दाङ जिल्लाको वातावरणमा गम्भीर असर पर्ने देखिएको छ । यस्तै जैविक विविधता नास हुने, स्वास्थ्यमा असर गर्ने, आसपासको जिल्लाका बासिन्दालाई समेत असर पुर्‍याउने, विद्यालय जाने बालबालिकाहरूलाई असर गर्ने, गर्भवती, वृद्ध, बच्चा, ज्येष्ठ नागरिक लगायतलाई दीर्घकालीन रूपमा असर पर्ने थाहा पाउँदा पनि अटेर गरिरहेको उद्योगलाई आगो लगाउने कार्य रोक्ने आदेशको माग गरिएको छ ।

हालै दाङ जिल्लाका विभिन्न सात वटा उद्योगमा अनुगमन गर्दा अन्य छ वटा उद्योगले इट्टा पोल्ने कार्य गरेका छैनन् भने तुलसीपुर १८ मा रहेको उक्त उद्योगले मात्रै आगो लगाउने कार्य गरेको छ । जिल्ला घरेलु तथा साना उद्योग कार्यालयले समेत यसका बारेमा अनुगमन गरेको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८२ बिहिबार ००:००  ८ : २१ बजे