२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

तुलसीपुरबाट मौरीका चाका निर्यात गर्दै शर्मा



दाङ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१२, हरिपौरीका अशोककुमार शर्माले कुनै वेला आफूले पालेका मौरीका लागि विदेशबाट चाका ल्याउनुपर्थ्यो। कहिले भारतबाट त कहिले चीनबाट चाका ल्याएर मौरीपालन गर्नुपर्ने अवस्था थियो। तर, अहिले मौरीका चाका तयार गरेर उनी आफूले त प्रयोग गरिरहेकै छन्, जिल्लाबाहिर पनि निर्यात गर्दै आएका छन्।

शर्माले दाङसहित रुकुम पश्चिम, सल्यान, रोल्पा, प्युठान, बाँकेलगायतका जिल्लामा चाका निर्यात गर्ने गरेको बताए। उनले सञ्चालन गरेको आचार्य माहुरी कृषि तथा पशुपंक्षी फर्ममा ५० प्रतिशत अनुदानमा मेसिन ल्याएपछि यसरी चाका बनाउन थालेका हुन्। आर्थिक वर्ष ०८१/८२ मा मेसिन ल्याएर चाका उत्पादन सुरु गरिएको हो। गत वर्ष मात्रै १० क्विन्टल चाका उत्पादन भएको उनले बताए। यस वर्ष १५ क्विन्टल उत्पादन गर्ने शर्माको लक्ष्य छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मौरी सुपरजोन) परियोजनाले ५० प्रतिशत अनुदानमा उक्त मेसिन उपलब्ध गराएको हो।  

प्रतिकिलो एक हजार रुपैयाँका दरले चाका बिक्री हुने गरेको छ। स्थानीय स्रोत-साधनलाई प्रयोग गरेर चाका बनाउने गरिएको छ। ‘हामीले भारत, चीनबाट ल्याउँदा रसायन भएको हुन्थ्यो,’ उनले भने, ‘तर, हामीले उत्पादन गरेका चाकामा त्यस्तो छैन। मौरीले पनि धेरै मन पराउँछन्।’ चाकाबाटै गत वर्ष ५ लाख आम्दानी गरेको उनले बताए। 

मौरीपालनबाट पनि आम्दानी 
शर्माले मौरीपालन पनि गरेका छन्। २०६२ सालदेखि मौरीपालन गर्दै आएका उनले वार्षिक १५ क्विन्टलसम्म मह उत्पादन गर्ने गरेको बताए। जसमा खुद आम्दानी वार्षिक पाँच लाखसम्म हुने गरेको छ। उनले  मेलिफेरा जातको मौरीपालन गर्दै आएका छन्। ५० घार मौरीपालन गरेका शर्माले दाङसहित विभिन्न जिल्लामा मह निर्यात गर्ने गरेको बताए।

प्रकाशित मिति : १२ मंसिर २०८२ शुक्रबार ००:००  ८ : २१ बजे