२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

अलैँची निर्यात दोब्बरले बढ्यो



काठमाडौँ । अलैँचीको निर्यात दोब्बरले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ चार महिनामा (साउन–कात्तिक) तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपियाँ बराबरको १८ लाख २३ हजार केजी अलैँची निर्यात भएको छ । गत वर्ष सो अवधिमा एक अर्ब ९० करोड ११ लाख २३ हजार रुपियाँ बराबरको १२ लाख छ हजार केजी अलैँची निर्यात भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दा निर्यात दोब्बरले वृद्धि भएको अलैँची उत्पादक सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष निर्मल भट्टराईले यस पटक अन्तर्राष्ट्रिय बजारमा अलैँचीको मूल्य बढेर समयमा किसानले बिक्री गर्दा निर्यातसमेत वृद्धि भएको बताउनुभयो । विगतका वर्षमा अलैँचीको मूल्य नबढ्दा किसानले लामो समय थन्क्याएर पछि बिक्री गर्ने गरेका थिए । यस पटक सिजनको सुरुमै अलैँचीको मूल्य पाउँदा निर्यात बढेको सङ्घका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । 

सङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा अलैँचीको मूल्य बढेर प्रतिमन (४०केजी) एक लाख पाँच हजार रुपियाँसम्म पुगेको छ । यस वर्ष अलैँचीको उत्पादन १० देखि १५ प्रतिशतले बढ्ने अनुमान गरिएको भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादन बढ्दा निर्यात पनि बढेर करिब आठ अर्ब पुग्ने प्रक्षेपण छ । गत वर्ष सात अर्ब रुपियाँ बराबरको अलैँची निर्यात भएको थियो । 

सङ्घका अनुसार मुलुकभर २० हजार हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ । त्यसबाट वार्षिक करिब पाँच हजार मेट्रिक टन अलैँची उत्पादन हुन्छ । नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ ।   

प्रकाशित मिति : २१ मंसिर २०८२ आइतबार ००:००  ६ : ३९ बजे