गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दै आएको छ।
प्रशासन कार्यालयले साप्ताहिक रूपमा गरेका कामको आम नागरिकलाई जानकारी गराउने उद्देश्यले हरेक हप्तामा सम्पादित भएका कार्यहरू सार्वजनिक गर्दै आएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार पछिल्लो एक हप्ता आइतबारदेखि शुक्रबारसम्म वैवाहिक अङ्गीकृत नागरिकता एकसहित २८७ जनाले नयाँ नागरिकता लिएका छन्।
२११ जनाले नागरिकता प्रमाणपत्रको प्रतिलिपि बनाएका छन्।
नाबालक परिचयपत्र १६, राहदानीको आवेदन सङ्कलन २५४, राहदानी वितरण ३२३ जनालाई गरिएको छ। राष्ट्रिय परिचयपत्र आवेदन सङ्कलन ५५१, राष्ट्रिय परिचयपत्र वितरण ३९१, दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित २०, संस्था दर्ता सात, हातहतियार नवीकरण र नामसारी एक गरिएको उहाँले जानकारी दिनु भयो।
त्यसैगरी राहदानी, संस्था दर्ता, हातहतियार र राष्ट्रिय परिचयपत्रबाट कुल १५ लाख ६४ हजार सात सय रुपियाँ राजस्व सङ्कलन भएको छ।
जसमा राहदानीबाट १५ लाख ३२ हजार ५००, संस्था दर्ता र हातहतियारबाट २५ हजार २०० र राष्ट्रिय परिचयपत्रबाट सात हजार रुपियाँ राजस्व सङ्कलन भएको छ।
हाल जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउनुका साथै सेवाग्राहीको सहजताका लागि वडाबाट सिफारिस भएको विषयमा थप निवेदन आवश्यक नपर्ने व्यवस्था गरिएको छ।
जिल्ला प्रशासन कार्यालयमा नयाँ व्यवस्था लागु भएको भन्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सेवाग्राहीहरूले निवेदन लेख्नुपर्ने झन्झटका कारण समय खर्चिनुपर्ने बाध्य र निवेदन लेखाउन बाहिरी व्यक्तिलाई शुल्क तिर्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनु भयो।
सेवाग्राहीले आवश्यक कागजातको फोटोकपी ल्याउन छुटाएमा अत्यावश्यक अवस्थामा कार्यालयको सहायता कक्षबाट निःशुल्क फोटोकपी सेवा उपलब्ध गराइएको छ।







प्रतिक्रिया