गुल्मी । आन्तरिक पर्यटन प्रवर्धन गर्नका लागि गुल्मीमा होमस्टे सञ्चालन गरिएको छ । यस जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ उपल्लो भंगारीमा २०७७ सालदेखि रैथाने बालीको परिकार प्रवर्धनसँगै आन्तरिक पर्यटन प्रवर्धन गर्न होमस्टे सञ्चालनमा ल्याइएको हो । सदरमुकाम तम्घासदेखि पूर्वतिर पर्ने रेसुङ्गा होमस्टे सञ्चालनको मुख्य उद्देश्य स्थानीयलाई स्वरोजगार, आत्मनिर्भर र स्वाभिमान बनाउनु रहेको बताइएको छ ।
तम्घासदेखि करिब १२ किमिको दूरीमा रेसुङ्गा होमस्टे छ । मगर समुदायको बाहुल्यता रहेको यो गाउँ मगर भेषभुषा, कला, संस्कृतिले समेत भरीपूर्ण छ । त्यसैमा रैथाने बालीबाट बनाइएका मगर परिकारको भिन्नाभिन्नै स्वाद लिन होमस्टेमा पर्यटक पुग्ने गर्छन् । कोदोको सेलरोटी, फापरको सेलरोटी, बटुक रोटी, सिस्नुको साग, टिमुरको अचार, लोकल जातका कुखुरा, झिलगींको बिरम्ला, मकै, भट्टलगायतका दर्जनबढी रैथाने बालीको स्वाद चाख्न पाइने रेसुङ्गा होमस्टेका संयोजक यज्ञमूर्ति थापा श्रीसले बताउनुभयो ।
उहाँका अनुसार होमस्टेमा पाहुनाको स्वागतका लागि स्थानीय मगर संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, घाटु नाँच, सोरठी नाच, सालैजो, सुनिमया भाकालगायतका पुराना प्रचलित भाकामा गाउने र नाच्ने गरिन्छ । यहाँ गुल्मी जिल्लाभरबाट मात्र नभई बुटवललगायतका विभिन्न स्थानका पाहुनाहरु यहाँ अवलोकन भ्रमणका लागि आउने गरेका छन् । यहाँ आउने पाहुनाहरुलाई सामूहिक कार्यक्रम पछि बास बस्ने व्यवस्था घर–घरमा गराइएको छ । हरेक घरका एउटा कोठामा दुई÷तीन जना पाहुना बस्ने स्वच्छ र सुरक्षित वातावरण मिलाइएको श्रीसले बताउनुभयो ।
होमस्टे सञ्चालनका लागि यहाँका युवाहरु उत्साहित देखिन्छन् । होमस्टे सञ्चालनको अवधारणाका कारण बसाइँसराइ रोकिएको भन्दै उहाँले वैदेशिक रोजगारीमा जाने युवाहरुको सङ्ख्या घटेको बताउनुभयो । रेसुङ्गा होमस्टे सदरमुकाम तम्घासको नजिक भएपनि प्रचारप्रसारको अभावमा व्यवस्थित हुन नसकेको बताउनुभयो । रेसुङ्गा नगरपालिकाले रैथाने बालीबाट तयार गरिएको परिकारको प्रवर्धनका लागि सहयोग गर्दै आएको छ ।
आव २०८०/०८१ मा यस नगरपालिकाको पहलमा सङ्घीय सरकारबाट एक करोड २८ लाख रुपियाँ बजेट विनियोजन गरी रेसुङ्गा होमस्टेसम्म पुग्ने सडको ढल र नालीको काम सम्पन्न गरिएको छ । कार्यक्रम स्थल र कार्यक्रम गर्ने भवनले बजेट अभावका कारण पूर्णता पाउन सकिरहेको छैन । यसका लागि बजेट व्यवस्थापनमा पहल गर्ने र त्यहाँ पुग्ने सडकको सहज पहुँच र सुविधाका लागि सडक कालोपत्रे गर्नुका साथै सडक बत्ती जडान गरिने रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । उहाँका अनुसार पर्यटन प्रवर्धनका लागि नगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गरेको छ ।







प्रतिक्रिया