८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

आर्थिक अभावले उपचार नपाएका ६ वर्षीय बालकको शितगंगाद्धारा उद्धार



अर्घाखाँची ।
आर्थिक अभावका कारण लामो समयसम्म उचित उपचार नपाएका ६ वर्षीय बालकको शितगङ्गा नगरपालिकाले तत्काल उद्धार गर्दै थप उपचारको व्यवस्था गरेको छ। शितगङ्गा नगरपालिका–९ सिद्धारा निवासी हिम्मत पोखरेल करिब ५ महिनादेखि ज्वरोबाट थलिए पनि आर्थिक समस्याका कारण समयमै उपचार गराउन नसक्दा स्वास्थ्य अवस्था गम्भीर बनेको हो।

बालकका बुवा गणेश पोखरेलका अनुसार यसअघि छोराको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइएको थियो। तर त्यहाँ उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि अवस्था झन् जटिल बन्दै गएको उनले बताए। आर्थिक अवस्था कमजोर भएकै कारण निरन्तर औषधोपचार तथा थप परीक्षण गर्न नसकिएको उनको भनाइ छ।

अवस्था गम्भीर बन्दै गएपछि अभिभावकले बालकलाई शितगङ्गा नगरपालिका अन्तर्गतको ठाडा प्राथमिक उपचार केन्द्रमा ल्याएका थिए। प्राथमिक उपचार केन्द्रमा जाँचका क्रममा बालकको अवस्था जटिल देखिएपछि थप उपचारका लागि बुटवलस्थित आम्दा बाल अस्पताल रिफर गरिएको स्वास्थ्य शाखा प्रमुख दामोदर ढकालले जानकारी दिए।

बालकको अवस्था जटिल रहेको जानकारी पाएपछि शितगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले तत्काल १० हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराउनुका साथै एम्बुलेन्समार्फत बालकलाई बुटवल पठाउने व्यवस्था मिलाइएको बताए। स्वास्थ्य शाखाले समयमै उपचार सुनिश्चित गर्न सम्बन्धित चिकित्सकसँग समन्वयसमेत गरेको जनाएको छ।

अर्घाखाँची जाने क्रममा बालकको अवस्था प्रत्यक्ष देखेपछि काठमाडौंका युवा समाजसेवी तुरुप सङ्ग्रौलाले पनि मानवीय आधारमा सक्दो आर्थिक सहयोग गरेका छन्। नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सापकोटाको तत्परतामा गरिएको उद्धार र उपचार व्यवस्थाले बालकको ज्यान जोगिने आशा गरिएको छ।

प्रकाशित मिति : ८ पुस २०८२ मंगलबार ००:००  ४ : ३० बजे