बुटवल ।
नदीजन्य सामग्रीको अभावले बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम सुस्त हुने अवस्था आएको छ । निर्माण सुरु भएको करिब एक वर्षको बिचमा १७ प्रतिशत काम सम्पन्न भए पनि केही दिनयता भने निर्माणको काम सुस्त हुँदै गएको हो ।
बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलले नदीजन्य सामग्री अभावका कारण सडक विस्तारको काम केही दिनयता सुस्त भएको जनाएको छ । अहिलेसम्म सडकका दुवैतर्फ नाली निर्माण, डाइभर्सन, कलभर्ट र बाउन्ड्री वालको काम करिब सम्पन्न भए पनि अबको दिनमा सब बेसको काम गर्दा ढुङ्गा, बालुवा, गिट्टी र मिस्कट आवश्यक पर्ने भएकाले निर्माण सामग्री अभावले समस्या भइरहेको आयोजनाको भनाइ छ ।
बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलकी प्रमुख कुशलता न्यौपानेले नदीजन्य सामग्री अभावका कारण काम सुस्त भएको निर्माण व्यवसायी पक्षले आफूहरूलाई जानकारी दिएको बताउनुभयो ।
आयोजनाका लागि करिब ३० लाख घनमिटर नदीजन्य सामग्री आवश्यक पर्छ तर अहिलेसम्म करिब पाँच लाख ८० हजार घनमिटर मात्रै प्राप्त भएको छ । सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिकाले आयोजनाका लागि नदीजन्य पदार्थ र माटो उपलब्ध गराउने जनाए पनि प्रक्रियामा ढिलाइ गर्दा काममा अवरोध आउने स्थिति उत्पन्न भएको हो ।
पालिकाहरूले पहल गरेर नदीजन्य पदार्थ छिटो उपलब्ध नगराए सडक विस्तारको काम प्रभावित हुने अवस्था छ । अहिले पुलहरूको पाइलिङ र जग ठड्याउने काम पूरा भएर जनावर ओहोरदोहोर गर्ने अन्डरपास निर्माणको कामसमेत सकिन थालेको छ । विसं २०१९ मा राजा महेन्द्रको पालामा बनेको बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड विस्तारको काम ६२ वर्षपछि सुरु भएको हो ।
बुटवल–नारायणगढ सडकमा जस्तो जनतालाई सास्ती नहोस् भन्ने उद्देश्यले यो सडकखण्ड विस्तारका क्रममा बिचको पिच भाग नभत्काईकन काम भइरहेको छ । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा गत असार १३ गते ठेक्का लिएको हो । आयोजनाका अनुसार ५० किलोमिटर सडक दुई चरणमा २५र२५ किलोमिटर गरी विस्तारको काम भइरहेको छ ।
गत वर्षको कात्तिक ४ गते सडक स्तरोन्नतिका लागि सम्झौता भएको थियो भने माघ १० गते सडक शिलान्यास गरिएको थियो । यो सडकमा गाडी गुडाउन मिल्ने छ वटा अन्डरपास, पैदल यात्रुका लागि १२ वटा अन्डरपास र ११ वटा ओभरहेड ब्रिज, वन्यजन्तु वारपार गर्ने ठाउँमा १९ वटा अन्डरपास बनाइने आयोजनाको भनाइ छ ।- गोरखापत्रबाट







प्रतिक्रिया