१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

जापानी इन्सेफ्लाइटिसबाट यो वर्षमात्रै ३५ जनाको मृत्यु



काठमाडौँ ।

नेपालमा केही वर्ष यता जापानी इन्सेफ्लाइटिस पनि एक जनस्वास्थ्यको चुनौतीका रूपमा देखा पर्न थालेको छ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार जापानी इन्सेफ्लाइटिसबाट गत जनवरीदेखि डिसेम्बर, २०२५ मा १७९ जना संक्रमण भएको छ भने ३५ जनाको  मृत्यु भएको छ। संक्रमितहरूमा यो मृत्युदर एकदमै उच्च हो।

तथ्यांक अनुसार जापानी इन्फेसलाइटिसका कारण सन् २०२३ मा ७, २०२४ मा ३२ जनाको मृत्यु भएको थियो। जापानी इन्सेफ्लाइटिस  संक्रमणको मृत्युदर उच्च रहेको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए।

जापानी इन्फेसलाइटिस संक्रमण लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै छ। त्यहाँ यो वर्ष मात्रै ११ जनाको मृत्यु भएको छ।

‘प्रदेश तहमा हेर्दा लुम्बिनी प्रदेशमा यो वर्ष ११ जना संक्रमितको मृत्यु भएको छ त्यसपछि बागमतीमा ८ जना संक्रमितको मृत्यु भएको छ’, खोप शाखा प्रमुख डा. गौतमले भने।

गत जनवरी यता, कोशी प्रदेशमा १३ जना संक्रमित भेटिँदा ५ जनाको मृत्यु भएको छ, मधेश प्रदेशमा ११ जना संक्रमित भेटिँदा ३ को मृत्यु, बागमतीमा १३ जना संक्रमित भेटिँदा ८ जनाको मृत्यु, गण्डकी प्रदेशमा १९ जना संक्रमित भेटिँदा ५ जना को मृत्यु , लुम्बिनीमा ३१ जना संक्रमित भेटिँदा ११ जनाको मृत्यु, कर्णाली प्रदेशमा ४ जना संक्रमित भेटिँदा एक जनाको मृत्यु र सुदुरपश्चिम प्रदेशमा ८ जना संक्रमित भेटिँदा २ जनाको मृत्यु भएको छ।

यो मृत्युदर संक्रमणदरको हिसाबमा दोब्बर हो। पछिल्ला केही वर्षको विवरण हेर्ने यो भने सन् २०१७ पछि सन् २०२३ र यो वर्षमा धेरै  संक्रमितको मृत्यु भएको छ।

सन् २०१७ मा ८१ जना संक्रमित देखिएका एकजना संक्रमितको मृत्यु भएको थियो। त्यसपछि सन् २०१८ मा ५८ जना, सन् २०१९ मा ७० जना, सन् २०२४ मा २४ जना, सन् २०२१ मा २८ जना, सन २०२२ मा ७९ संक्रमित भेटिएका थिए।

तर सन् २०१७ मा एकजना संक्रमितको मृत्यु भएयता सन् २०२३ को बीचमा कुनै पनि संक्रमितको मृत्यु भएको थिएन।

कसरी हुन्छ जापानी इन्सेफ्लाइटिस

जापानी इन्सेफ्लाइटिस संक्रमति लामखुट्टेले टोकेर मानिसमा सर्ने संक्रामक रोग हो। क्युलेक्स जातको पोथी लामखुट्टेले यो रोग सार्छ।

यो भाइरस सुँगुर, बंगुर, हाँसजस्ता घरपालुवा पशुपन्छीको शरीरमा लामो समय रहिरहन्छ। यस्तै धानखेती हुने तराईमा यस्तो संक्रमण बढी देखिने गरेको छ।

संक्रमित लामखुट्टेले सुँगुर, बंगुर, हाँसजस्ता घरपालुवा पशुपन्छीलाई टोकेर मानिसलाई पनि टोके यो रोग सर्छ तर मानिसबाट मानिसमा यो रोग सरेको छैन।

लामखुट्टेले टोकेपछि यस्ता लक्षण देखिए हुनसक्छ जापानी इन्सेफ्लाइटिस

यो रोगको संक्रमण भए कडा गरी टाउको दुख्ने, कडा ज्वरो आउने र मस्तिष्क सुन्निएर मानिस विरामी  (बेहोससमेत) हुन्छन्।

बेहोस भएकामध्ये कतिपय विरामीको मृत्युसमेत हुन सक्छ। लक्षणअनुसार यसको उपचार गरिन्छ। उपचारपछि निको भए पनि पक्षघात भइ अपांगताको समस्या रहिरहन्छ।

यो रोग लागिसकेपछि निको नहुने र लागेकामध्ये ३० प्रतिशतको मृत्यु हुने जोखिम हुन्छ तर यो रोगविरुद्धको खोप लिए यो रोगको जोखिम हुँदैन।

नेपालले जापानी इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान चलाइसके पनि छुटेकाहरू संक्रमणमा पर्दा मृत्यु भएको गौतमले बताए।

जापानी इन्सेफ्लाइटिस एन्टिभाइरल उपचार नभएकाले यसविरुद्धको खोप लगाउनु र लामखुट्टेको टोकाइबाट बच्नु नै सुरक्षाको सबैभन्दा राम्रो उपाय हो।

‘यो रोग देखिएपछि यसका लागि भनेर खास उपचार छैन। त्यसैले विभिन्न खालका जापानी इन्सेफ्लाइटिस एन्टिभाइरल उपचार छैन। अन्य खालका सहायक उपचार गरिने हो। त्यसैले कसैमा यो उपचार लाग्छ‚ कसैमा लाग्दैन तर बेलैमा यस विरुद्धको खोप लगाइयो भने संक्रमणबाट बच्ने सम्भावना धेरै हुन्छ’‚ खोप शाखा प्रमुख डा. गौतमले भने।

नेपालमा पनि यसविरुद्ध पाँच वर्षमुनिका बालबालिकालाई नियमित रूपमा खोप लगाइँदै आइएको छ। वेलावेलामा संक्रमण देखिँदा विशेष खोप अभियानसमेत सञ्चालन हुँदै आएको छ।

 यो खोप लगाएको १० दिनपछि मात्रै काम गर्ने हुँदा संक्रमण देखिएपछि उक्त क्षेत्रमा खोप अभियान लाउनुभन्दा नियमित खोप तालिका अनुरूप नै बालबालिकालाई जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप लगाउनु उपयुक्त हुने खोप शाखा प्रमुख डा. गौतमले बताए।

प्रकाशित मिति : १५ पुस २०८२ मंगलबार ००:००  ६ : ३३ बजे