काठमाण्डौ ।
रौतहट र नवलपरासीको दाउन्नेमा अवरुद्ध सडक खुलेको छ । हिजो बिहान ग्यास बोकेको ट्यांकर पल्टिएर ११ घण्टादेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग गएरातिदेखि खुलेको हो ।
पूर्व–पश्चिम राजमार्गको रौतहट चन्द्रपुर नगरपालिका–४ मा ग्यास बोकेको बुलेट ट्यांकर सडकमै पल्टिएको थियो । क्रेनको सहयोगमा ट्यांकर हटाएपछि राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बुलेटबाट ग्यास चुहिएको आशंकामा विज्ञले परीक्षण गर्नुका साथै ६ वटा क्रेन प्रयोग गरिएको थियो ।
भारतबाट वीरगन्ज नाका हुँदै पूर्वतर्फका लागि छुटेको भारतीय नम्बरप्लेटको ट्यांकर हिजो बिहान साढे ७ बजे सडकको बीच भागमै पल्टिएको थियो । यस्तै निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा शीतका कारण सडक चिप्लो हुँदा गाडी चलाउन समस्या हुँदै आएकोमा गिट्टी राखेर सञ्चालन गरिएको छ । तर गाडीको जाम उस्तै छ ।
सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालयले यात्रु र चालकलाई सकेसम्म बैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । सडकको केही ठाउँमा कल्भर्ट तथा सडक ढलानको काम भैरहेकाले एकतर्फी सडक सञ्चालन हुँदै आएको छ । बैकल्पिक सडकको रूपमा पूर्व–पश्चिम राजमार्ग हुँदै आउने र जाने गाडीका लागि नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल निस्कन अनुरोध गरिएको छ ।
यस्तै कालीगण्डकी चोक (गैंडाकोट) रामपुर पिपलडाँडा हुँदै गाडी चलाउन सकिन्छ । त्यस्तै काठमाण्डौबाट बर्दघाट पश्चिम जाने र बुटवल–काठमाण्डौ गर्नेले काठमाण्डौ–मुग्लिङ–पोखरा हुँदै यात्रा गर्न सक्ने आयोजना निर्देशनालयले जनाएको छ ।







प्रतिक्रिया