१ असार २०८३, सोमबार | Tue Jun 16 2026

समानुपातिक सूचीको आलोचनापछि रास्वपाले भन्यो- सच्याउँछौँ



काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा रहेका त्रुटिहरू सच्याउने आश्वासन दिएको छ।

निर्वाचन आयोगले तोकेको समय सीमाभित्र समानुपातिक सूचीका त्रुटि सच्याउने रास्वपाले दाबी गरेको छ।

रास्वपाले तयार गरेको सूचीमा भरमार आलोचना भएपछि रास्वपा नेतृत्व हच्किएको हो।

विभिन्न सरोकारवालाहरूबाट प्राप्त प्रतिक्रिया र सुझावप्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख गर्दै रास्वपाले समय अभावका कारण अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका क्रममा बन्दसूची तयार पारिएको उल्लेख गरेको छ।
पार्टी सचिवालयद्वारा जारी सूचनामा भनिएको छ, ‘समय अभावलाई मध्यनजर गर्दै अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारणले यस प्रक्रियामा कुनै कमीकमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने कुरामा सहमत हुँदै सूची पेश भएको हो । उक्त बन्दसूचीमा रहेका त्रुटिहरू सच्याउन निर्वाचन आयोगद्वारा दिइएको समय सीमाभित्र पार्टीले कुनै त्रुटि देखिएमा सुधार गरी समयमै पेश गर्ने जानकारी गराइन्छ ।’

बन्दसूचीमा सच्याउनुपर्ने विषयमा पुस १७ गते बिहान १० बजेभित्र यथोचित सुझाव प्रदेश सभापतिमार्फत वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सकिने रास्वपाले जनाएको छ।

निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीमा २० गतेसम्म सच्याउन सकिनेछ।

प्रकाशित मिति : १६ पुस २०८२ बुधबार ००:००  ५ : ५३ बजे