१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

सितगंगामा युनाइटेड अस्पतालको निःशुल्क स्वास्थ्य शिविर, ३०० भन्दा बढीले सेवा लिए



कपिलवस्तु ।
चौथो सितगंगा कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव २०८२ को अवसरमा युनाइटेड अस्पतालद्वारा आयोजना गरिएको निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त शिविरमा ३०० भन्दा बढी सेवाग्राहीले निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन ।

शिविरमा मुटु सम्बन्धी ईसीजी परीक्षण, ब्लड सुगर र रक्तचाप जाँच गर्नुका साथै आवश्यक परामर्श र उपचार सेवा प्रदान गरिएको थियो । आयोजकका अनुसार प्रेसर तथा सुगर रोगबाट पीडित बिरामीहरूलाई आवश्यक औषधिहरू समेत निःशुल्क रूपमा वितरण गरिएको थियो। शिविरमा बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा.गोविन्द रावत, डा. सुमन श्रेष्ठ, डा. योगेन्द्र थापा लगायतका विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवाग्राहीलाई परामर्श दिएको थियो ।

युनाइटेड अस्पतालका कार्यकारी निर्देशक सुन्दर आचार्यले विगतदेखि नै अस्पतालले यस्ता निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको जानकारी दिँदै आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्वास्थ्य परीक्षण तथा परामर्श घर आँगनमै निःशुल्क रूपमा पाउँदा स्थानीय बासिन्दाहरू उत्साहित देखिएका थिए। यस किसिमका शिविरले रोगको समयमै पहिचान हुनुका साथै समुदायमा स्वास्थ्यप्रति सचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : १८ पुस २०८२ शुक्रबार ००:००  ७ : ५८ बजे