काठमाण्डौ ।
देशैभरका ताल तलैया, नदी, सिमसार क्षेत्रमा रहेका जलपन्छीको गणना शुरू भएको छ ।
हरेक वर्ष जनवरी महिनाको पहिलो शनिवारदेखि नेपालमा पूर्वको कोशीदेखि पश्चिममा शुक्लाफाँटासम्म जलपन्छीको गणना गर्ने गरिन्छ । पानी, ताल तलैया, सिमसार र आसपासको क्षेत्रमा आहारविहार गर्ने, प्रजनन गर्ने र धेरैजसो समय व्यतित गर्ने चराका प्रजातिलाई पानी चरा अथवा जलपन्छी भनिन्छ ।
यसवर्ष आजदेखि शुरू भएको गणना आउँदो माघ ४ गतेसम्म चल्नेछ । वेटल्याण्ड ईन्टरनेशनलको संयोजन र नेपाल पन्छीविद् संघको समन्वयमा गणना थालिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, पन्छी संरक्षण संघलगायतले पनि जलपन्छीको गणनामा आवश्यक सहयोग गरेका छन् । चराको बारेमा ज्ञान भएका, पहिचान गर्न सक्ने सीप, क्षमता रहेका ४ सयभन्दा धेरै जना गणनामा सहभागी छन् ।
वरिष्ठ चराविद् डा. हेमसागर बरालका अनुसार जलपन्छीका प्रजाति, तिनको संख्या र वासस्थानमा देखिएका समस्या जस्ता जानकारीको अभिलेख गर्न गणना महत्त्वपूर्ण हुन्छ । सन् २०२५ मा देशका १८ ठाउँको ७८ क्षेत्रमा गरिएको चरा गणनामा ९६ प्रजातिका ९६ हजार ५ सय ६५ चरा गणना गरिएको थियो । नेपालमा पाइने विश्वका दुर्लभ चरामध्ये १३ प्रजाति जलपन्छी नै छन् ।







प्रतिक्रिया