१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

रोल्पामा जीप दुर्घटना हुँदा २ विद्यार्थीको मृत्यु, ९ जना घाइते



रोल्पा । 

रोल्पामा जीप दुर्घटनामा हुँदा दुई विद्यार्थीको मृत्यु भएको छ। दुर्घटनामा ९ जना घाइते भएका छन्। 

उक्त दुर्घटनामा सुनछहरी गाउँपालिका वडा नम्बर ४ स्युरीका १२ वर्षीया दीपा पुन र १२ वर्षकै सुनिल विकको मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताए। उनीहरू राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी हुन्। राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर घर फर्किंदै गरेका विद्यार्थी दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

सुनछहरी गाउँपालिका वडा नम्बर १ गाम खोलाको सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेर वडा नम्बर ४ स्युरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जीप गए राति १० बजेतिर अनियन्त्रित भई दुर्घटना भएको प्रहरी निरीक्षक थापाले बताए। गम्भीर घाइतेमध्ये दुई जनालाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा पुर्‍याउँदा  चिकित्सकले राति साढे १२ बजे मृत घोषणा गरेका थिए। 

दुर्घटनामा परी थप नौ जना विद्यार्थी घाइते भएका थिए। 

घाइते हुनेमा  सुनछहरी गाउँपालिका वडा नम्बर ४ सिउरी का १५ वर्षीय हिमाल विक,  १२ वर्षीया अमृता पुन, १४ वर्षीया जमुना विक, २४ वर्षीया अस्मिता विक, १६ वर्षीया पवित्रा पुन, १७ वर्षीय शनि विक, १२ वर्षीया विपना घर्ती मगर, १५ वर्षीय  किसन घर्ती मगर र १५ वर्षीया हस्तिरा विक रहेको प्रहरी निरीक्षक थापा नेपालीले बताए। 

प्रहरीका अनुसार घाइते सबै ९ जनालाई रोल्पामा प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवलका लागि रिफर गरिएको छ। 

जीप बाटोबाट केही तल पल्टिएको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २० पुस २०८२ आइतबार ००:००  ९ : २२ बजे