काठमाडौँ ।
नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पार्टी फुटे पनि सानेपास्थित पार्टी कार्यालय कब्जा गर्न नदिने चेतावनी दिएको छ।
विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन प्रक्रिया शुरु गरिरहेका वेला संस्थापन पक्ष निकट तरुण दलका नेता, कार्यकर्ताहरूले यस्तो चेतावनी दिएका हुन्।
मंगलवार सानेपास्थित पार्टी कार्यालयमा भेला भएर उनीहरूले यस्तो दबाव दिएका हुन्। उनीहरूले पार्टीलाई एकताबद्ध बनाएर लैजान महामन्त्री गगनकुमार थापालाई आग्रह गरेका छन्। महामन्त्री थापा सिंगो पार्टीको नेता बन्नसक्ने भएकाले उनलाई पार्टीलाई एकताबद्ध बनाएर लैजान आग्रह गरिएको पनि तरुण दलका सभापति विद्वान गुरुङले बताए।
उनले पार्टी सभापति शेरबहादुर देउवा पार्टी एकताको पक्षमा रहेको र त्यसैकारण दुई पक्षबीच वार्ता भइरहेको समेत बताए।
अध्यक्ष गुरुङले भने, ‘यो चुनौतीको घडीमा नेपाली काँग्रेस एक भएर जानेछ भन्ने विश्वास लिएका छौँ। नेपाली काँग्रेस भ्रातृ संगठन तरुण दलका सबै तरुणहरू नेपाली काँग्रेसका केन्द्रीय कार्यालयमा जम्मा भएका छौँ। यदि पार्टी विभाजन भएको अवस्थामा नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा कहीँकतैबाट हस्तक्षेप नहोस् भनेर नेपाल तरुण दल तयारी अवस्थामा बसेको छ।’
नेपाल तरुण दलका नेता, कार्यकर्ताहरू पार्टी कार्यालय सानेपामा बसेका छन्।







प्रतिक्रिया