४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

पाटेबाघको आक्रमणमा परि एक हप्तामा तीन जनाको ज्यान गयाे



सुर्खेत ।

पाटेबाघको आक्रमणमा परि एक हप्ताभित्र सुर्खेत र सल्यानका गरि तीन जनाको ज्यान गएको छ ।

गएको पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका वडा नम्बर ५ गेरवानी क्षेत्रमा ५७ वर्षीया गङ्गा सारु, पुस २६ गते त्यही क्षेत्रसँग सीमा जोडिएको सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर ७ की धनसरी रावत र पुस २९ गते कालीमाटी–८ का ६५ वर्षीय चन्द्रबहादुर खप्तडीलाई पाटेबाघले आक्रमण गरेपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो ।

सल्यानको कालीमाटी र सुर्खेतको भेरीगङ्गाका केही क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएकाले पनि घाँसदाउरा गर्न जानेहरू पाटेबाघको आक्रमणमा पर्ने गरेका उहाँको भनाइ छ । बाघले दुई वटा घरपालुवा गाईगोरु पनि मारेको छ ।

बाघले मानिस तथा घरपालुवा पशुमाथि आक्रमण गर्ने तथा आतङ्क फैलाउन थालेपछि डिभिजन वन कार्यालय सल्यानले बाघलाई समात्ने वा मार्ने आदेश जारी गर्दै तत्काल कार्यान्वयन गर्न बाँके राष्ट्रिय निकुञ्जलाई पुस ३० गते पत्राचार गरेको सल्यानका डिभिजन वन अधिकृत टेकबहादुर रावलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ माघ २०८२ बिहिबार ००:००  ८ : ४३ बजे