१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

बसको ठक्करबाट एक जनाको मृत्युः चार जना घाइते



घोराही । दाङको देउखुरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

दुर्घटनामा मोटरसाइकल चालककको मृत्यु भएको छ। मृत्यु हुने लमही नगरपालिका–५ कोलही निवासी २२ वर्षीय विशाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव परिक्षक चक्रबहादुर शाहले जानकारी दिनुभएको छ। 

सूचना अधिकारी शाहका अनुसार लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बर बसले रिहारदेखि लमहीतर्फ आइरहेको लु ३९ प ८९६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। 

बसमा सवार रहेका राप्ती गाउँपालिका–४ निवासी मिना ठकुरी, शिला परियार र मोटरसाइकल सवार लमही नगरपालिका–५ कोलही निवासी अशोक चौधरी र बस धनी सुशील वली घाइते हुनुभएको छ। प्रहरीका अनुसार घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : १ माघ २०८२ बिहिबार ००:००  ८ : ५० बजे