१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

बाँकेमा एक महिनामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु



नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको पुस महिनाको प्रहरी प्रतिवेदनमा एक महिनाको अवधिमा १११ वटा सवारी दुर्घटना भएको खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले पुस महिनामा जिल्लामा १११ वटा सवारी दुर्घटना भएको बताउनुभयो । यो अवधिमा दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ भने १६० जना घाइते भएका छन् । 

उहाँका अनुसार जिल्लामा भएका दुर्घटनाको अध्ययन र विश्लेषण गर्दा अधिकांश दुर्घटना तीव्र गतिमा सवारी साधन चलाएकै कारण भएको देखिएको छ । ५९ वटा दुर्घटना तीव्र गतिका कारण भएको हो। 

मादक पदार्थ सेवन गरेका कारण सात वटा र छाडा चौपायाका कारण केही दुर्घटना भएको प्रहरीले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार पुस महिनामा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार १५० वटा सवारी साधनमाथि कारबाही गर्दा १८ लाख २२ हजार ५०० रूपियाँ राजस्व संकलन भएको छ । 

प्रकाशित मिति : ३ माघ २०८२ शनिबार ००:००  ९ : ०८ बजे