१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

झापामा श्रीमान्‌ बालेनका लागि घरदैलोमा सविना



झापा ।
६ माघमा उम्मेदवारी दिएर २ दिनपछि झापा छाडेका बालेन्द्र शाह सोमबार नेपालगञ्ज पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा निर्वाचन क्षेत्र नम्बर–५ मा सांसद बन्ने दौडमा रहेका शाहले घरदैलो अभियान भने चलाएनन् । उनी जहाँ बसे, त्यहीँ समर्थक, शुभेच्छुक र कार्यकर्ता भेट्न पुगे ।

हाल बालेन विनै चुनावी प्रचार–प्रसार तीव्र रूपमा भइरहेको छ । तर सोमबारदेखि भने उनकी पत्नी सविना काफ्ले झापाका गाउँ–गाउँ पुगेर श्रीमान्‌का लागि भोट माग्न सक्रिय भएकी छन् । उनी बिहानैदेखि मतदाताको घरदैलोमा पुगेर बालेन्द्र शाहलाई मत दिन आग्रह गरिरहेकी छन् ।

शाहको सचिवालयले सार्वजनिक गरेका तस्वीरमा सविना हात जोडेर स्थानीय मतदातासँग भोट मागिरहेको देखिन्छ । आजको घरदैलो अभियान दमक–९ स्थित उराउ बस्तीबाट सुरु भई पाणिनि स्कुल, देवसिंह टोल, नौभाइ चोकहुँदै बुद्ध चोकसम्म पुगेको छ ।

उक्त क्षेत्रमा सविनाले आफ्ना श्रीमान्‌लाई भोट गरेर प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरिरहेको शाहको सचिवालयका १ सदस्यले जानकारी दिए ।

उनका अनुसार यसअघि बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार हुँदा सविना एक दिन पनि भोट माग्न हिँडेकी थिइनन् । कतिपयलाई त बालेन विवाहित भएको कुरा धेरैपछि मात्र थाहा भएको थियो । तर यसपटक भने सविनाले सक्रिय रूपमा चुनावी अभियानमा सहभागी हुनुको विशेष कारण छ ।

सविनाको माइती मोरङको उर्लावारीमा पर्छ भने मावल झापा–५ मै रहेको छ । यस कारण उनी सो क्षेत्रका स्थानीयसँग परिचित छिन् । आफ्नै क्षेत्रमा श्रीमान संसदीय निर्वाचनमा उम्मेदवार बनेपछि सहयोगका लागि उनी मतदाताको घर–घरमा पुगेर भोट माग्दै हिँडेकी हुन् ।

प्रकाशित मिति : १२ माघ २०८२ सोमबार ००:००  १ : १२ बजे