भुपाल थापा, तौलिहवा ।
पछिल्लो छ महिनामा कपिलवस्तुमा ३९ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ३९ जना नयाँ कुष्ठरोगी भेटिएका हुन् । सबैभन्दा बढी महाराजगंज नगरपालिकामा ११ जना कुष्ठरोगी रहेका उहाले जानकारी दिनुभयो । नयाँ ३९ बिरामी फेला परेसँगै चालु आवको पुस मसान्तसम्ममा कुष्ठरोगीको संख्या १६७ पुगेको उहाले जानकारी दिनुभयो । ७३औँ कुष्ठरोग दिवसका अवसरमा स्वास्थ्य कार्यालय कपिलवस्तुले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यालयका प्रमुख ढकालले रोगको अवस्थाबारे जानकारी गराउँदै अहिले रहेका ३९ जना बिरामीको उपचार भइरहेको छ ।
गत आर्थिक वर्षमा कपिलवस्तुमा १८८ कुष्ठरोगी फेला परेका थिए । उक्त आर्थिक वर्षमा सबैभन्दा बढी कृष्णनगर नगरपालिकामा २१ जनामा कुष्ठरोग देखिएको ढकालले बताउनुभयो । उहाका अनुसार बिजयनगर गाउँपालिकामा २० जना, बुद्धभूमि नगरपालिका र शिवराज नगरपालिकामा १५/१५ जना, महाराजगंज नगरपालिका र शुद्धोधन गाउँपालिकामा १३/१३ जना, कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकामा ११/११ जना, बाणगंगा नगरपालिकामा ६ जना र मायादेवी गाउँपालिकामा ३ जना कुष्ठरोगी भेटिएका थिए ।
सरकारले १६ वर्षअघि नेपालमा कुष्ठरोग निवारण घोषणा गरे पनि कपिलवस्तु सहित कतिपय जिल्लामा अझै पनि कुष्ठरोगी छन् । विगतको तुलनामा कुष्ठरोगीको संख्यामा केही कमी भने आएको ढकालले बताउनुभयो । अहिले पनि ग्रामीण क्षेत्रमा कुष्ठरोग लागेमा लुकाउने प्रचलन रहेकाले त्यसलाई समयमा उपचार नहुँदा समस्या बढेको भन्दै उहाँले कुष्ठरोगको सङ्का लागेको उपचार गर्न सबैलाई आग्रह गर्नुभयो ।
चिकित्सकको सल्लाहबमोजिम नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुने जनाउँदै समयमा उपचार भएमा अङ्गभङ्ग हुनबाट बच्न सकिने चिकित्सक बताउँछन् । यो रोगको औषधि नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा निःशुल्क पाइन्छ । आर्थिक वर्ष २०८१/८२ मा कपिलवस्तु जिल्लाको नयाँ बिरामी पत्ता लागेको दर प्रति १ लाख जनसंख्यामा १८.१ रहेको छ भने कुष्ठरोग प्रकोप दर १.६ प्रति १० हजार जनसंख्यामा रहेको छ र नयाँ कुष्ठरोगीहरु फेला ग्रेड २ अपांगता दर २.३ प्रतिशतको अवस्था छ ।







प्रतिक्रिया