१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

रूपन्देही र नवलपरासीमा क्षयरोगका बिरामी बढ्दो



तिनाउ । नेपालमा क्षयरोगका बिरामीहरूको सङ्ख्या बढ्दो मात्रामा रहेको छ । रूपन्देही र नवलपरासीका पालिकाहरूमा क्षयरोगीहरूको खोजी गर्दा क्षयरोगका बिरामीहरूको सङ्ख्या बढ्दो मात्रामा रहेको देखिएको हो ।

जिल्लास्थित स्वास्थ्य कार्यालय र बिराट नेपाल मेडिकल ट्रस्टले दुई जिल्लाका एक हजार १४ घर परिवारका चार हजार २१ जनामा क्षयरोगको जाँच गर्दा एक हजार दुई जनामा सङ्क्रमण फेला परेको बिएनएमटीका क्रिटिक परियोजना संयोजक अखिलेश झाले जानकारी दिनुभयो ।

सङ्क्रमण देखिएका मध्ये ९९४ जनाले औषधी खान सुरु गरेकोमा ७५४ जनाले औषधी पूरा गर्नु भएको र बाँकी २४० जनाले औषधी खाइरहेको संयोजक झाको भनाइ छ ।

नवलपरासीमा ३१७ घर परिवारमा जाँच गर्दा २८२ जनामा सङ्क्रमण देखिएको र २८० जनाले औषधी सेवन सुरु गरेको कार्यालयको भनाइ छ । त्यसमध्ये १८८ जनाले औषधी पूरा गर्नुभएको छ ।

यता रूपन्देहीका ६९७ घर परिवारमा क्षयरोगको जाँच गर्दा ७२० जनालाई सङ्क्रमण फेला परेको थियो । सङ्क्रमण फेला परेकामध्ये ७१४ जनाले औषधी सेवन गर्न सुरु गरेकोमा ५६६ जनाले औषधीको मात्रा पूरा गर्नु भएको र बाँकी रहेका १४८ जनाले औषधी सेवन गरिरहेको कार्यालयको भनाइ छ ।

क्षेयरोगको अवस्था बिग्रदै गएपछि त्यसलाई नियन्त्रण गर्न भन्दै रूपन्देही र नवलपरासीमा विशेष अभियान चलाइएको छ । सुसुप्त अवस्थामा रहेका क्षयरोगका किटाणुको पहिचानका लागि बिराट नेपाल मेडिकल ट्रस्टले दुई जिल्लामा विशेष अभियान चलाएपछि अहिले क्षयरोगको किटाणु फेला परेका व्यक्तिहरू क्रमशः देखिन थालेका छन् ।

क्षयरोगको रोकथामका लागि उपचार सेवा चलाउँदै आएको उक्त संस्थाले कार्यक्रमको प्रभावकारीताबारे समीक्षा गरेको छ । कार्यालयले सरोकारवाहरूको सहभागितामा कार्यक्रमको समीक्षा गरिएको कार्यक्रम प्रबन्धक विवेचना पाण्डेले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय रूपन्देहीको सहकार्यमा बिराट नेपाल मेडिकल ट्रस्टले क्षयरोगसँग नजिक रहेका घर परिवारसँग पुगेर सुसुप्त अवस्थामा रहेका क्षयरोगका किटाणु भए नभएको पत्ता लगाउँदै आएको छ ।

क्षयरोगको सङ्क्रमणको शङ्का लागेका व्यक्तिहरूको खकार जाँच, छातीको एक्सरे, सिवाई टिबी टेस्ट, मलिकुलर गर्ने र त्यसको रिर्पोटको आधारमा औषधी चलाउने गरिएको पाण्डेले जानकारी दिनुभयो ।

नेपालमा एक्टिभ र ल्याटेन गरी दुई प्रकारका क्षयरोगका बिरामी रहेका छन् । झण्डै ५० प्रतिशत नागरिकमा क्षयरोगका किटाणु सुसुप्त अवस्थामा रहेको स्वास्थ्य कार्यालय रूपन्देहीका क्षयरोग निरीक्षक टीकाराम अधिकारीले जानकारी दिनुभयो । उहाँले क्षयरोग मुक्त समाजको निर्माणका लागि सरकार लागि परेको उल्लेख गर्दै सरकारको अभियानमा गैरसरकारी सस्थाहरुको भूमिका पनि महत्त्वपूर्ण सहयोग गरेको उल्लेख गर्नुभयो ।

समीक्षा कार्यक्रममा क्रिटिक परियोजनाका विषयमा डा. नविन साहले जानकारी दिनुभयो थियो भने रूपन्देही र नवलपरासीमा देखिएको क्षयरोगका विषयमा टीकाराम अधिकारी र देवकिनन्दन आचार्यले प्रस्तुतीकरण गर्नुभएको थियो । 

प्रकाशित मिति : १६ माघ २०८२ शुक्रबार ००:००  २ : ०२ बजे