१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

रोल्पामा २० जनाको ज्यान जाने गरी भएको दुर्घटनाको छानबिन गर्न समिति गठन



काठमाण्डौ । 

गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा हिजो भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । 

मन्त्रालयले लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षकको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो । प्रदेश प्रहरी कार्यालय तुलसीपुरका एसपी यादव ढकाल संयोजक रहेको समितिमा रोल्पाका डीएसपी वीरेन्द्रवीर विश्वकर्मा, सशस्त्र प्रहरी बल रोल्पाका डीएसपी र जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत सदस्य हुनुहुन्छ । 

गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीका अनुसार समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । समितिलाई दुर्घटनाको कारण तथा लापरबाही र कमजोरी पत्ता लगाई तथा आउँदा दिनमा दुर्घटना न्यूनीकरणका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिने कार्यादेश दिइएको छ । 

रुकुम पूर्वबाट रोल्पाको जलजलाका लागि छुटेको लु १ ज ४१६७ नम्बरको जीप हिजो दिउँसो कच्ची सडकबाट झण्डै आठ सय मिटर तल खस्दा चालकसहित २० जनाले ज्यान गुमाएका छन् । छतमा बसेका रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय समीर कामी घाइते हुनुहुन्छ । 

प्रकाशित मिति : १८ बैशाख २०८३ शुक्रबार ००:००  ८ : ३० बजे