रेसुङ्गा(गुल्मी) । गुल्मी जिल्लाको सदरमुकाम तम्घास, अर्जुन तथा धार्मिक पर्यटकीय क्षेत्र रेसुङ्गालाई आगामी सात वर्षभित्र नमूना सहर बनाउने उदेश्यसहित ‘फुलैफुलको सहर’ अभियान सुरु गरिएको छ ।
यो अभियानमा पहिलो दिन ५० भन्दा बढि व्यक्तिहरुले सक्रिय सहभागिता जनाए । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिएको छ ।
बिदाको कारण स्वतस्र्फूत रुपमा बैङ्क तथा बित्तिय संस्था, बिद्यालयमा काम गर्ने व्यक्तिहरु, क्लव संघसंस्थामा आवद्ध व्यक्तिहरु, फोटोग्राफर, भूतपुर्व सेनाहरु, रेसुङ्गा भजन साँझको समुह, व्यापारी लगायत सामाजिक व्यक्तित्व फुल रोप्ने अभियानमा जोडिएर काम थालेका छन् ।
पहिलो दिन एक सय खाडल खनेर ८४ फुलका बिरुवा रोपिएको अभियान्ता फोटोग्राफर दिनेश बस्नेतले बताउनुभयो । यो अभियानको मुख्य अभियन्ता सफ्टवेयर इन्जिनियर तथा साइकल यात्री पवन दमासे रहनु भएको छ । उहाँ सहरको मोह छोडेर तम्घासमै बसोबास गर्ने गरेर घर निर्माणसहित फुल रोप्ने अभियानमा लागेको फोटोग्राफर बस्नेतले बताउनुभयो ।
दमासेले प्राकृतिक सौन्दर्य, स्वच्छ वातावरण र पर्यटन प्रवद्र्धनलाई जोड दिँदै अभियान अगाडी बढाउनु भएको छ । यस वर्ष करिब ५०० बेगनबेली फूलका बिरुवा रोप्ने योजना अभियान्ताहरुको छ ।
त्यस्तै आगामी वर्षहरुमा जाकारन्डा, जापानिज म्याल लगायत विभिन्न आकर्षक फूल तथा बिरुवाले तम्घास, अर्जुन र रेसुङ्गा क्षेत्रलाई सजाउने लक्ष्य पनि रहेको छ । अभियानका लागि आवश्यक बिरुवाहरु विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग र रेसुङ्गा नगरपालिकाले मल उपलब्ध गराउने भएको छ ।
रेसुङ्गा तथा अर्जुन प्राकृतिक सौन्दर्यले भरिपूर्ण भए पनि पर्यटन विकासमा अपेक्षाकृत विकास नभएकाले नयाँ–नयाँ क्षेत्रहरुको खोजी भइरहेको छ । रेसुङ्गा नगरपालिकाले पनि सुन्दर सहर निर्माणको लागि तम्घास तथा रेसुङ्गा क्षेत्रको सौन्दर्यकरणमा काम गरिरहेको छ ।
सरसफाई र बृक्षारोपण अभियानमा लामो समयदेखि नगर र विभिन्न सामाजिक संघसंस्थाहरुसँग काम भइरहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो । नगरले ‘जाउँ हिड रेसुङ्गा अभियान मार्फत विभिन्न रचनात्मक काम पनि गरिरहेको छ ।







प्रतिक्रिया