काठमाडौँ ।
लगभग हरेक घरमा दैनिक रूपमा आलुको प्रयोग हुन्छ । जब घरमा अरू तरकारी हुँदैन, तब आलुको तरकारी, भुजिया वा भरता बनाएर सजिलै खाइन्छ । आलु बिना त भान्सामा काम नै हुन्न ।
यसलाई अनेकौँ तरकारीमा पनि प्रयोग गरिन्छ । धेरैले आलुलाई तरकारीको राजा पनि भन्छन् । आलुको प्रयोग नेपालीको भात भान्सामा यति धेरै हुन्छ कि हामी किलोका किलो आलु किनेर राख्छौँ ।
तर लामो समयसम्म राखेर आलु प्रयोग गर्दा यसमा टुसा आउन छाल्छ । यस्तो आलु देख्दा तपाईंको मनमा ‘टुसा पलाएको आलु खानु स्वास्थ्यका लागि सुरक्षित हो कि होइन ?’ होला भन्ने प्रश्न त पक्कै उठ्छ होला ।
के हो अङ्कुरित आलु ?
जब हामीले लामो समयसम्म प्रयोग नगरीकन आलु राख्छौँ त्यसमा साना अङ्कुरहरू निस्किन थाल्छन् । समयसँगै ती अङ्कुरहरू ठुलो हुँदै जान्छन् । यस्तो अवस्थालाई अङ्कुरित आलु भनिन्छ । यो समस्या प्रायः आलुलाई तातो ठाउँमा, भान्सामा ग्यास चुल्हो नजिक वा लामो समयसम्म भण्डारण गर्दा देखिन्छ ।
अङ्कुर आएपछि आलुमा के परिवर्तन हुन्छ ?
जब आलुमा अङ्कुर आउन थाल्छ, तब यसमा प्राकृतिक रूपमा सोलनाइन र चाकोनाइन नामक विषालु तत्त्वहरू बढ्न थाल्छन् । यी तत्त्वहरूले बोटलाई कीरा र फङ्गसबाट बचाउँछन् । तर यिनीहरू मानिसका लागि हानिकारक हुन सक्छन् ।
उम्रिएको आलु खानुका हानी
उम्रिएको आलु खानुका कुनै पनि फाइदा छैन । उम्रिएको वा हरियो आलु सकेसम्म नखान विज्ञहरू भन्छन् । तर यस्ता आलु खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् । यसले फूड पोइजनिङको खतरा बढ्न सक्छ । पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने समस्या हुन सक्छ । टाउको दुख्ने र कमजोरी महसुस हुन सक्छ । धेरै मात्रा खाँदा स्नायु प्रणालीमा असर पर्न सक्छ । चक्कर लाग्ने, भ्रम हुने र अत्यधिक कमजोरी हुन सक्छ । बालबालिका र वृद्धहरूका लागि यो अझ बढी जोखिमपूर्ण हुन्छ । आलु हरियो भएको छ भने त्यसमा सोलनाइनको मात्रा बढी हुन्छ । यस्तो आलु त झन् खानै हुँदैन ।
कस्तो अवस्थामा खानु हुन्न उम्रिएको आलु ?
धेरै ठुलो अङ्कुर निस्किएको भए
आलु नरम वा सुकिएको भए
आलु हरियो देखिएमा
दुर्गन्ध आएको भए
खान मिल्छ हल्का टुसा आएको आलु ?
यदि अङ्कुर सानो छ र आलु हरियो भएको छैन भने अंकुरिएको भाग काटेर राम्ररी पकाएर खान सकिन्छ । तर धेरै अंकुरिएको वा हरियो आलु भने पूर्ण रूपमा नखानु नै सुरक्षित हुन्छ ।
कसरी बचाउने आलुलाई अङ्कुरित हुनबाट ?
आलु चिसो र सुख्खा ठाउँमा राख्ने
घामबाट टाढा राख्ने
फ्रिजमा राख्न नहुने
आलु र प्याज सँगै भण्डारण नगर्ने ।







प्रतिक्रिया