१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

नेपालमा १२ वर्षमुनिका बालबालिका पनि चुरोटको लतमा



काठमाण्डौ ।
नेपालमा १२ वर्षमुनिका बालबालिकामा पनि चुरोटको लतमा रहेका पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा यो तथ्य पाइएको अनुसन्धानकर्ता कुसुम शाहीले जानकारी दिनुभयो ।

‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’ का अवसरमा आज स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै अनुसन्धानकर्ता शाहीले ७ वटै प्रदेशका ५० वटा विद्यालयमा कक्षा ७ देखि १० सम्म पढ्ने ३ हजार बालबालिकामा अध्ययन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अध्ययनमा १० वर्षमुनिका बालबालिकाले पनि चुरोट प्रयोग गर्ने गरेको र १२ मुनिकै बालबालिका चुरोटको लतमा रहेको पाइएको हो । अध्ययनमा सहभागी मध्ये ५७ प्रतिशतले बिहान उठ्नेबित्तिकै चुरोट खाने गरेको र ७४ प्रतिशतले चुरोट छाड्न कोशिश गरे पनि नसकिरहेको बताएका थिए ।

यस्तै कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा। श्रीकृष्ण श्रेष्ठले नेपालमा सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ३९ हजारभन्दा धेरै मानिसको ज्यान जाने गरेको जानकारी गराउनुभयो ।

विश्वभर सुर्तीजन्य वस्तुको प्रयोगका कारण हरेक वर्ष झन्डै ८० लाख मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ । मुटुरोग, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी रोग तथा अन्य नसर्ने गम्भीर रोगको प्रमुख कारण सुर्तीजन्य पदार्थ रहेको डाक्टर श्रेष्ठले बताउनुभयो । सार्वजनिक ठाउँमा धूम्रपान निषेध, विज्ञापन तथा प्रवर्द्धन नियन्त्रण, चित्रसहितको स्वास्थ्य चेतावनी र कर नीतिलाई नियन्त्रणका प्रमुख उपायका रूपमा कार्यान्वयन गरिरहेको उहाँको भनाइ छ ।

सुर्तीजन्य पदार्थको खपत घटाउन कर नीतिको प्रभावकारी कार्यान्वयन र जनचेतना अभिवृद्धि आवश्यक रहेको विज्ञहरू बताउँछन् ।

‘सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौँ, कुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ’ भन्ने नाराका साथ आज दिवस मनाइएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३ आइतबार ००:००  ६ : ३३ बजे