नेपालगन्ज । विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालयलाई समायोजन गर्ने नीति अनुसार बाँकेको खजुरा गाउँपालिकाले तीन वटा विद्यालय समायोजन गरेको छ ।
खजुरा गाउँपालिका–३, बी गाउँस्थित शान्ति प्राथमिक विद्यालय, खजुरा गाउँपालिका–२, गौरीनगरस्थित भानुदय प्राथमिक विद्यालय र शिव प्राथमिक विद्यालय, नयाँ गुराँसपुरमा विद्यार्थी सङ्ख्या न्यून रहेकाले ती विद्यालयलाई अन्य विद्यालयमा समायोजन गरिएको खजुरा गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लका अनुसार शान्ति प्राथमिक विद्यालयलाई जनता माध्यमिक विद्यालयमा समायोजन गरिएको छ । समायोजनपछि उक्त विद्यालय भवनमा गाउँपालिकाको प्रशासनिक कार्यालय सञ्चालन गरिएको छ । त्यसैगरी भानुदय प्राथमिक विद्यालय र शिव प्राथमिक विद्यालयलाई शुक्र माध्यमिक विद्यालयमा समायोजन गरिएको छ ।
शिक्षा शाखाका अनुसार विद्यालय समायोजनपछि भानुदय प्राथमिक विद्यालयको भवन खाली रहेको छ । शिव प्राथमिक विद्यालय नयाँ गुराँसपुरको दुईतले भवन पनि अधिकांश समय प्रयोगविहीन रहेको छ । एउटा कोठामा बाल विकास केन्द्र सञ्चालन भए पनि भवनको अधिकांश भाग प्रयोगमा नरहेको शिक्षा शाखा प्रमुख मल्लले बताउनुभयो ।
उहाँका अनुसार खजुरा गाउँपालिकाले विसं २०७५ देखि विद्यालय समायोजनको नीति कार्यान्वयनमा ल्याएको हो । विद्यालय समायोजनपछि प्रयोगविहीन बनेका भवन तथा अन्य संरचनाहरू संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् ।
विद्यालय समायोजन नीति आवश्यक भए पनि खाली भएका भवनको सदुपयोगका लागि स्थानीय तहले ठोस योजना बनाउनुपर्ने खजुरा गाउँपालिका–२ का स्थानीय अगुवा भीम ओलीले बताउनुभयो । उहाँले खाली भवनको उचित उपयोग हुन नसके लाखौँ रुपियाँ लगानीमा निर्माण गरिएका संरचना जीर्ण भएर खेर जाने चिन्ता व्यक्त गर्नुभयो ।







प्रतिक्रिया