२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

शिवराज र विजयनगरमा ‘मौनता तोडौँ’ परियोजना सुरु



कपिलवस्तु । लैंगिक हिंसा रोकथाम तथा महिला, बालबालिका र सिमान्तकृत समुदायको हक–अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले ‘मौनता तोडौँः सामुदायिक नेतृत्वमा लैंगिक हिंसा रोकथाम’ परियोजना सुरु गरिएको छ।

बुधबार चन्द्रौटामा आयोजित लैंगिक हिंसासम्बन्धी अन्तरक्रिया कार्यक्रममार्फत परियोजनाबारे जानकारी गराइएको हो। वुमेन एक्टको आयोजना तथा प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा सञ्चालन हुने उक्त परियोजना कपिलवस्तुको शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा कार्यान्वयन हुनेछ।

कार्यक्रमका प्रमुख अतिथि शिवराज नगरपालिकाका मेयर अजय थापाले पछिल्लो समय महिलामात्र नभई पुरुषहरू पनि हिंसाको सिकार बन्ने गरेको उल्लेख गर्दै लैंगिक हिंसा अन्त्यका लागि सबै पक्षले मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले परियोजनाबाट लक्षित वर्ग प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर मगरले परियोजनाको सफल कार्यान्वयनका लागि स्थानीय तहबाट पूर्ण सहकार्य रहने बताउँदै बढ्दो डिजिटल हिंसाको विषयलाई पनि परियोजनाले प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा प्लान इन्टरनेशनलका कार्यक्रम विशेषज्ञ झलकमान विश्वकर्माले संस्थाको उद्देश्य तथा गतिविधिबारे जानकारी गराउनुभयो। परियोजना संयोजक सरस्वतीकुमारी दुनुवारले परियोजनाका लक्ष्य, कार्यक्षेत्र र अपेक्षित उपलब्धिबारे प्रस्तुति दिनुभएको थियो।

वुमेन एक्टकी कार्यकारी अध्यक्ष सिर्जना अधिकारीले संस्थाले विगतदेखि नै महिला अधिकार, सम्मान र अवसर सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै यस परियोजनाले समुदायस्तरमा लैंगिक हिंसा न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

परियोजनाले लैंगिक हिंसा विरुद्ध सचेतना अभिवृद्धि, पीडितको संरक्षण, समुदायको सहभागिता वृद्धि तथा समानता र न्यायमा आधारित समाज निर्माणका लागि काम गर्ने जनाइएको छ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३ बिहिबार ००:००  १२ : २६ बजे