२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

सरेपानी सामुदायिक वनको अध्यक्षमा नारायण गुरुङ निर्वाचित



बाबुराम रायमाझी, भलवाड ।

“रुख रोपौँ, वन जोगाऔँ” भन्ने मूल नारालाई आत्मसात गर्दै वाणगंगा नगरपालिका–९ पडरियास्थित सरेपानी सामुदायिक वन उपभोक्ता समूहको छैटौँ अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट नारायण गुरुङ आगामी तीन वर्षका लागि अध्यक्ष पदमा निर्वाचित भएका छन्।

निर्वाचनमा खसेको कुल २८१ मतमध्ये गुरुङले १७७ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी रामबहादुर कार्कीले ८७ मत प्राप्त गरेका थिए। अध्यक्ष पदमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अपनाइएको निर्वाचन मण्डलका संयोजक केशरा गुरुङले जानकारी दिए। जेठ ३ गते सम्पन्न १७औँ साधारणसभापछि अध्यक्ष चयनका विषयमा सहमति हुन नसकेपछि निर्वाचन गरिएको थियो । साथै बरिस्ठ उपाध्यक्षमा लालबहादुर खडका उपाध्यक्षमा पार्वती ओलि  सचिवमा शान्ति गुरुङ कोषाध्यक्षमा भिमार्जुन पौडेल चयन हुनु भएको छ भने सदस्यमा चन्द्रावति थारु,योगमाया जि सि रेशम बहादुर ओलि  जगत  थापा लगायत  चयन भएका छन् ।

कार्यक्रममा समूहका निवर्तमान अध्यक्ष बिन्द्रबहादुर गुरुङले सामुदायिक वनको संरक्षण तथा व्यवस्थापनका योजनाबारे जानकारी गराउँदै वनलाई अझ व्यवस्थित, संरक्षणमुखी र उपभोक्तामैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि सब–डिभिजन वन कार्यालय गोरुसिङेका सहायक वन अधिकृत अमित पाण्डेयले वनको संरक्षण, संवर्द्धन तथा सदुपयोगमा सबै उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै सामुदायिक वनले वातावरण संरक्षणसँगै स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरे।

निर्वाचन कार्यक्रमको सहजीकरण कर्मचारी लालमणि अधिकारीले गरेका थिए।

हाल १७५.५ हेक्टर क्षेत्रफलमा फैलिएको सरेपानी सामुदायिक वनबाट ३१० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुँदै आएका छन्। वन संरक्षण, जैविक विविधता संरक्षण तथा उपभोक्ताको जीवनस्तर उकास्न समूहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। नवनिर्वाचित अध्यक्ष गुरुङको नेतृत्वमा आगामी दिनमा वनको संरक्षण र व्यवस्थापन कार्य अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३ सोमबार ००:००  १२ : १५ बजे