विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा ‘जनतासँग अध्यक्षरउपाध्यक्ष’ कार्यक्रम अन्तर्गत निःशुल्क आयुर्वेद स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको छ । आजको कार्यक्रमबाट १ सय ३२ जनाले सेवा लिएका छन् । आयुर्वेद डा। हरिशंकर चौधरीले सेवाग्राहीको निरीक्षण गरेका थिए ।
गाउँपालिका – ७ परसोहियामा रहेको गणेशपुर आयुर्वेद औषधालयमा गाउँपालिकाको आयुर्वेद शाखाद्वारा आयोजित कार्यक्रममा विभिन्न स्वास्थ्य समस्या भएका नागरिकको आयुर्वेद चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
कार्यक्रममा बालरोग, बाथरोग, मधुमेह, उच्च रक्तचाप, अम्लपित्त, दम, स्त्रीरोग, शिरो रोग, पाइल्स तथा प्यारालाइसिस लगायतका स्वास्थ्य समस्यासम्बन्धी परीक्षण सेवा प्रदान गरिएको आयुर्वेद शाखाकी प्रमुख बिमला कुमारी चौधरीले जानकारी दिइन् ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले नागरिकलाई सहज र सुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनु स्थानीय सरकारको प्राथमिकता भएको बताए । उनले नागरिकको स्वास्थ्यप्रति सचेतना बढाउँदै आवश्यक उपचार सेवा स्थानीय स्तरमै उपलब्ध गराउन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने धारणा राखे ।
त्यस्तै गाउँपालिका(७ का वडा अध्यक्ष दिनेश कुमार चौधरीले स्थानीय नागरिकलाई आफ्नै गाउँमा विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण गराउने अवसर प्रदान गर्नु सकारात्मक पहल भएको बताए । उनले स्वास्थ्य समस्यालाई बेवास्ता नगरी समयमै परीक्षण तथा उपचार गराउन नागरिकलाई आग्रह गरे ।
गणेशपुर स्वास्थ्य चौकीका गौतम रायले रोग लागेपछि उपचार गर्नुभन्दा रोगबाट बच्न स्वास्थ्यप्रति सचेत रहनु आवश्यक रहेको बताए । उनले स्वस्थ जीवनशैली, सन्तुलित खानपान र नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए ।
विजयनगर गाउँपालिकाको आयुर्वेद शाखाले आयोजना गरेको कार्यक्रममार्फत नागरिकलाई आयुर्वेद चिकित्सक सेवाको पहुँचमा ल्याउनुका साथै विभिन्न रोगको पहिचान र उपचारमा सहयोग पुर्याउने उद्देश्य लिएको छ ।











प्रतिक्रिया