१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

अनियमित लोडसेडिङले हैरान बुद्धभूमिबासी, कृष्णनगर प्राधिकरणको चरम लापरबाही



मायादेवी अनलाइन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाबासी लोडसेडिङको चरम मारमा परेका छन् । बिना सूचना यहाँ दैनिक घण्टौ लाइन जाने गरेको छ । किन, के, कति कारणले यहाँ विद्युत जाने गर्छ, यहाँका नागरिक बेखबर छन् ।

नेपाल विद्युत प्राधिकरण कृष्णनगर बितरण केन्द्रको कार्यक्षेत्र रहेको यहाँ अनियमित लोडसेडिङ सामान्य जस्तै छ ।

‘सामान्य पानी पर्दा होस् वा हावाले पात हल्लाउँदा होस् यहाँ लाइन गइहाल्छ’, बुद्धभूमि नगरपालिका वडा नम्बर ९ का बिक्रम मगरले मायादेवीसँग भने ।

लोडसेडिङ केही मिनेटको होइन घण्टौसम्म हुने गरेको छ । शुक्रबार मात्र बिहान ३ बजे गएको लाइन ८ बजे मात्र आएको थियो । जब कि त्यस दिन मौसम ठीक थियो । यति लामो समय किन विद्युत गयो ? यसको जवाफ कृष्णनगर बितरण केन्द्रले दिन सकेको छैन । अनियमित विद्युतबारे कयौं पटक बुझ्न खोज्न कर्मचारीले फोन नउठाउने गरेको बुद्धभूमि ५ का कमल मल्लले गुनासो गरे ।

शुक्रवार त एउटा उदाहरण हो । जब साँझ विद्युत जान्छ, त्यस दिन रातभर विद्युत आउँदैन् । चर्को गर्मीमा यसरी अनियमित विद्युत कटौतीमा आम उपभोक्ता हैरान भएका छन् । बुद्धभूमि नगरपालिकाको इमिलिया, बुड्ढी, राजपुर लगायतको स्थानमा चरम लोडसेडिङको समस्या देखिएको हो । यस स्थानमा किन लाइन गइरहेको हो, यहाँका नागरिकले जवाफ चाहेको बुद्धभूमि ९ का सन्तराम थारुले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८२ शुक्रबार ००:००  ८ : ३३ बजे