कपिलवस्तु।
पछिल्लो समय युवा तथा विद्यार्थीमा डिजिटल प्रविधिको उचित उपयोग नहुँदा विभिन्न प्रकारका जोखिम बढ्दै गएपछि विद्यार्थीलाई लक्षित गरी अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ।
वाणगंगा नगरपालिका–१ बैरियास्थित श्री बाल माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १०, ११ र १२ का विद्यार्थीलाई छुट्टाछुट्टै सत्रमा अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा साइबर अपराध, डिजिटल सुरक्षा तथा करियर काउन्सेलिङका विविध पक्षबारे जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै मनकामना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मुक्तबहादुर कार्कीले समाजमा विभिन्न सामाजिक समस्या बढ्दै गएको र लागूऔषध दुर्व्यसनको जोखिम पनि विस्तार हुँदै गएकाले युवा तथा विद्यार्थीका लागि यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यार्थी जीवनमै कुलतबाट जोगाउन समय–समयमा सचेतना तथा नैतिक शिक्षाको आवश्यकता रहेको उल्लेख गर्दै समाजलाई सही दिशामा अघि बढाउन सबैको सकारात्मक सहयोग अपरिहार्य रहेको धारणा राख्नुभयो।
कार्यक्रमका प्रमुख प्रशिक्षक तथा नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले साइबर अपराध, डिजिटल सुरक्षा र करियर काउन्सेलिङका विषयमा सहजीकरण गर्दै अनुशासन, लगनशीलता र निरन्तर मेहनतबाट मात्रै सफलता प्राप्त गर्न सकिने बताउनुभयो।

उहाँले सामाजिक सञ्जाल तथा डिजिटल माध्यमको दुरुपयोगका कारण युवा, किशोरकिशोरी विभिन्न अपराधमा फस्ने घटनाहरू बढ्दै गएको उल्लेख गर्दै समयमै सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। डिजिटल सुरक्षाबारे पर्याप्त जानकारी नहुँदा व्यक्ति र परिवारले ठूलो आर्थिक तथा सामाजिक क्षति बेहोर्नुपरेका घटनाहरू प्रहरीसमक्ष निरन्तर आउने गरेको भन्दै शिक्षक, अभिभावक र समुदाय सबैले यस विषयमा विशेष ध्यान दिनुपर्ने र प्रहरीलाइ जानकारी दिनुपर्ने उहाँको भनाइ थियो।
विद्यालयका प्रधानाध्यापक टिकाराम पौडेलले विद्यार्थीले पाठ्यपुस्तकमा सीमित नभई जीवनोपयोगी तथा व्यवहारिक ज्ञानसमेत हासिल गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा मायादेवी मिडिया ग्रुपका अध्यक्ष हरि अधिकारीले सानो लापरबाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले बालबालिकाको सुरक्षा र जिम्मेवार डिजिटल प्रयोगमा सबै निकायले समान रूपमा चासो दिनुपर्ने बताउनुभयो।

विद्यालयका शिक्षक सूर्य चुन्दालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा मनकामना सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष पुष्कर घिमिरे, शिक्षक धनु गाहा मगर, मित्रलाल शर्मा, मोहन घिमिरे, विनोद शर्मा, अनिरुद्ध पौडेल लगायतका शिक्षक तथा सरोकारवालाको सहभागिता रहेको थियो।











प्रतिक्रिया