भदौ १८ ।
“समृद्धिका लागि वन” भन्ने मूल नाराका साथ कपिलवस्तुको बाणगंगा नगरपालिका ८ मा रहेको मधुवन सामुदायिक वन उपभोक्ता समूहको २१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
मधुवन सामुदायिक वन उपभोक्ता समूहको आफ्नै भवन परिसरमा सम्पन्न साधारणसभामा वनको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय विवरण, लेखा प्रतिवेदन तथा आगामी आर्थिक वर्षका लागि वन व्यवस्थापन, संरक्षण र विकासका योजनाबारे छलफल गरि पारित गरिएको छ ।
सभामा समूहका अध्यक्ष दीपककुमार सापकोटाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्ष २०८३/०८४ का लागि करिब ६ करोड ४० लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गर्नुभयो। प्रस्तावित बजेटमार्फत वन उपभोक्ताको आर्थिक तथा सामाजिक विकाससँगै वन संरक्षण र संवर्द्धनलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो।
अध्यक्ष सापकोटाका अनुसार अति विपन्न वन उपभोक्ता परिवारलाई आवास सहयोग, गरिबी न्यूनीकरण तथा जीविकोपार्जनमा सहयोग, आयआर्जन तथा व्यवसायमुखी तालिम, महिला सशक्तीकरण, सामुदायिक विकास, वन विकास तथा संरक्षण, स्वास्थ्य बीमा, स्वास्थ्य शिविर, खेलकुद व्यवस्थापन लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ।
त्यस्तै, वनकी कोषाध्यक्ष राधिका थापाले आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। लेखा समितिका संयोजक मोहन अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गर्दै वनको आर्थिक गतिविधि तथा खर्च व्यवस्थापनसम्बन्धी विवरण सभासमक्ष जानकारी गराउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा डिभिजन वन कार्यालय कपिलवस्तुका जिल्ला वन अधिकृत प्रभातविक्रम सापकोटाले वनमा खेर गइरहेका स्रोतसाधनलाई उचित रूपमा उपयोग गर्न सके सामुदायिक वनले उपभोक्ताको आर्थिक समृद्धिमा समेत महत्वपूर्ण योगदान पुर्याउन सक्ने बताउनुभयो।
उहाँले वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापनको सुरुवात कपिलवस्तुबाटै भएको उल्लेख गर्दै प्राकृतिक स्रोतको सही सदुपयोग गर्दै वन व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। सामुदायिक वनमा हुने वन अतिक्रमण नियन्त्रणका साथै वन क्षेत्रभित्र रहेका खोल्सा–खोल्सीको व्यवस्थापनमा समेत विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रमका विशिष्ट अतिथि तथा बाणगंगा नगरपालिका ८ का वडा अध्यक्ष बाबुराम अर्यालले वनको दिगो संरक्षण र संवर्द्धनका लागि सबै पक्षले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले वडा कार्यालय र सामुदायिक वनबीच आवश्यक समन्वय र सहकार्य गर्दै वनको पूर्वाधार विकास तथा उपभोक्ताको हितमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै, मोतिपुर सब–डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत एजाज अहमद अन्सारीले मधुवन सामुदायिक वनले वन संरक्षण, व्यवस्थापन तथा उपभोक्ताको हितमा गर्दै आएका विभिन्न महत्वपूर्ण कार्यहरूको प्रशंसा गर्नुभयो। उहाँले वन संरक्षणसँगै वनबाट प्राप्त हुने स्रोत र साधनको दिगो तथा व्यवस्थित उपयोगमा जोड दिनुभयो।
वैज्ञानिक वन व्यवस्थापन समितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डिल्लीराज रेग्मीले वन व्यवस्थापनलाई वैज्ञानिक, व्यवस्थित र दिगो ढंगले अघि बढाउनुपर्ने बताउनुभयो। उहाँले सामुदायिक वनको व्यवस्थापनमा महिलाको सहभागिता अझ बढाउँदै उनीहरूको नेतृत्व विकास र आयआर्जनका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो।
साधारणसभामा मधुवन सामुदायिक वनका निवर्तमान अध्यक्ष शान्तविक्रम पौडेल, श्रृंगीघाट सामुदायिक वनका अध्यक्ष सुशील सिंह ठकुरी, त्रिशक्ति सामुदायिक वन तथा मधौलिया सामुदायिक वनका प्रतिनिधि, वनका सल्लाहकार सदस्य, लेखा समिति तथा अनुगमन समितिका प्रतिनिधिलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा मधुवन सामुदायिक वनका उपाध्यक्ष अमर कंडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समूहकी सचिव देवकला सुनारले गर्नुभएको थियो।
बाणगंगा नगरपालिका–८ मा रहेको मधुवन सामुदायिक वन ४५०.६३ हेक्टर क्षेत्रफलमा फैलिएको छ। उक्त सामुदायिक वन उपभोक्ता समूहमा १ हजार ३५ घरधुरी आबद्ध रहेका छन्। वनले वन संरक्षणसँगै उपभोक्ताको सामाजिक, आर्थिक तथा जीविकोपार्जनमा सहयोग पुग्ने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।









प्रतिक्रिया