१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

१३ हजार १ सय बढी परीक्षार्थीमध्ये ७ सय २४ मात्रै उत्तीर्ण



काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत एलएलबी प्रथम वर्षको परीक्षामा सहभागी भएका १३ हजार १ सय ३८ परीक्षार्थीमध्ये ७ सय २४ जना मात्रै उत्तीर्ण भएका छन्।

यो कुल परीक्षार्थीको ५ दशमलव ५१ प्रतिशत मात्रै हो। गत साउनमा लिइएको उक्त परीक्षार्थीको नतिजा शुक्रबार सार्वजनिक भएको थियो। त्रिविका सह परीक्षा नियन्त्रक पशुपति अधिकारीले रहमा भर्ना हुँदैमा नपढ्ने परीक्षार्थीलाई उत्तीर्ण हुन सकस हुने बताए।

एलएलबीको पढाइ हुने त्रिवि अन्तर्गतका क्याम्पसमा एक हजारको हाराहारीमा मात्रै विद्यार्थी भर्ना क्षमता भएपनि अदालतको आदेशको आधारमा दुई वर्षअधि प्रथम वर्षमा १४ हजार ८ सय ९९ जना विद्यार्थी भर्ना भएका थिए।

सम्बन्धित क्याम्पसले जनशक्ति र भौतिक संरचनाले धान्न नसक्ने भन्दै भर्ना गर्न नमानेपछि विद्यार्थी अदालत गएका थिए। अदालतले सबै विद्यार्थी भर्ना गर्न आदेश दिएपछि करिब एक हजार मात्रै भर्ना क्षमता भएका क्याम्पसहरुले आएका जति सबै विद्यार्थीलाई भर्ना गरेका थिए।

विद्यार्थीको उत्तीर्ण प्रतिशतले भने विद्यार्थी रहरमा मात्रै भर्ना हुने गरेको देखाएको छ। सहनियन्त्रक अधिकारीले यो नतिजा निकै कम भएको बताए।

प्रकाशित मिति : १८ श्रावण २०७७ आइतबार ००:००  ६ : ३७ बजे