चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
भदौ १० गते बुधबार दिउँसो २ बजे कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा झमझम पानी परिरहेको थियो । काम विशेषको कारण मायादेवी टोली (चन्द्रकान्त, दिपक, विमल र उदय) पनि त्यतै थियौँ । हामीलाई पुग्नु पर्ने थियो पत्थरकोटसम्म । तर बीचमा पानी पर्ने आँटेपछि एकछिन वसन्तपुरमा रोकियौँ । एउटा रुखलाई ओत बनाएर । त्यति नै बेला हामीलाई स्मरण भयो, यहीँ नजिकै त स्वर्गीय अनिता पौडेलको माइती घर हो ।
आकाश मडारिएको थियो । डम्म आकाशमा कालोनिलो बादल थियो । त्यहीमाथि आकाश गडगडाएर ठुलो आवाज पनि आइरहेको थियो । पानी विस्तारै पर्दै थियो । हामी पानी विदो हुन्छ र पत्थरकोट पुगौँला भनेर ओतिएका थियौँ । तर पानी पर्ने क्रम बढ्न थालेपछि हामीलाई भिजाउन थाल्यो । त्यसपछि हामी हाम्रो बचावट खोज्यौँ । यत्तिकैमा हामी अनिताको घरमा जानेकी भन्ने छलफल गर्न थाल्यौँ । हामीसंग महङ्गा क्यामरा र मोबाइल थियो । पानीबाट यिनको सुरक्षा गर्नु पर्ने पहिलो दायित्व हामीसंग थियो । यत्तिकैमा दिपकले अनिताको घरमा जाने कुरा गरे । उनले अनिताको घर पनि देखेका रहेछन् । हामीले भन्यौँ टाढा होइन, यहीँ नजिकै हो । टाप कसे भिजिँदैन भने । त्यसपछि हामी कुलेलम ठोक्यौँ । हल्का पानी पर्दै थियो । हामी अनिताको घरमा पुग्यौँ । घर भित्र छिर्न बनाइएको काठको गरालो पनि अनुमति विना निकाल्दै हामी घर भित्रै छिर्यौँ ।
लक डाउनको बेला हामी यसरी आएको देख्दा घरमा भएका सबै अचम्ममा पर्नु भयो । एकछिन उहाँहरुले चिन्नु भएन, तर हामीले चिन्यौँ । अनुमतिविना त्यो काठको गरालो तोड्नुमा हामी ढुक्क थियौँ । किनभने हामीले त्यो परिवारसंग एउटा चिनजानको साइनो बनाइसकेका थियौँ ।
हामी भित्र बरण्डामा गएर मास्क खोल्यौँ । सबैलाई अनिताको माइती परिवारले चिन्नु भयो । चिनसिकेपछि हामी कोही बरण्डाको पलङमा बस्यौँ । भित्रबाट अनिताकी आमाले कुर्ची ल्याइदिनु भयो । घरमा साना–साना दुई जना बालबालिका थिए । देख्दै असाध्यै रहरलाग्दा । उनीहरुको त्यो चञ्चले बालापन देख्दा धेरै खुसी पनि लाग्यो । ती वच्चाहरुसंग बोल्दै गर्दा फेरि त्यो कहालीलाग्दो र विभत्सपूर्ण भएको अनिताको हत्याका छिटाले मष्तिष्कमा डेरा जमाउन थाले । जुन खुसीले भित्र पस्यौँ तर ती विचरा अबोध बाबुनानी, बुबाआमा अनि भाइ देखेर हाम्रो खुसी सिनित्तै मिल्कियो । बेहद बेखुसी उत्पन्न भयो ।
तै पनि मन थामेर कुरा गर्न खोज्यौँ । त्यो घटनालाई सम्झेर ती परिवारलाई थप भावुक बनाउने चाहाना पनि थिएन र त्यो घटनालाई सम्झने मन पनि थिएन । तर चाहना नहुँदा नहुँदै पनि अनिताको हत्या र दोषीउपर के कस्तो कारबाही भइरहेको छ भनेर कुरा चल्यो ।
बुबाले हामीलाई अहिले अदालतमा भइरहेका वहस, थुनछेक आदिका बारेमा बताउनु भयो । हामी त्यसमा अपडेट भयौँ । हाम्रा कुराकानी सुनिरहेका ती गगन र दिया एकोहोरी सुनिरहेका थिए । आमाका आँखामा टिलपिल टिलपिल आशुँ रसाइरहेका थिए ।
कुरा यत्तिकैमा सिमित भएन, ती दोषीहरु कतै उम्कन्छन् कि भन्नेमा अझै पनि परिवारमा शंका रहेछ । त्यसपछि फ्लोअपको लागि एटा भिडियो बनाउने कुरा भयो । उहाँकै सहमतिमा फ्लोअप भिडियो बनाउन लाग्यौँ ।
उता आमाले चिया पनि तयार पारिसक्नु भएको रहेछ । हामीले मिठो चिया पियौँ । बाहिर ठुलो पानी परिरहेको थियो । घर अगाडीबाट बाछिस्टोसहित ठुलो पानी आयो । हामी भित्र कोठामा गयौँ । आधाघण्टापछि पानी कम भयो । अनि भिडियो बनाउन आँट्यौँ । बिमलले क्यामेरा झिके । दिपक र उदयलले लोकेसन बनाए । टेलिभिज बुम झिकेँ । अन्तर्वार्ता सुरु गर्यौँ ।
हाम्रो चाहाना थियो नानीबाबुहरुको पढाइ लेखाईको बारेमा बुझ्ने । कसरी पढिरहेका छन् ? खर्च कसरी जुटिरहेको छ ? उनीहरुको भविष्य अब कसरी बनाउने ? अनि ९ बर्षको बाबु गगन र ११ बर्षकी दिब्यालाई छेउमा बोलाएँ ।
आमाको विभत्स हत्यापछि उतिबेला ती दुई अबोध नानीबाबुको पीडा र दर्द देख्दा नरुने कोही थिएन । तर, अहिले त निकै ठुला भइसकेका । लाग्थ्यो तिनीहरुले सबै बिर्सिए । तर उनीहरुसंग कुरा हुन थालेपछि एक्कासी भक्कानिए । सुरुमा नानिसंग कुराकानी गरेँ । नानीले पढाई लेखाई राम्रो भएको बताइन् । उनले आफूले पाँच कक्षामा पढ्ने बताइन् । यत्तिकैमा उनका आँखा रसाए । मैले सोधेँ नानी आमालाई सम्झियौँ ? नानी रुन थालिन् ।
म ३ कक्षामा पढ्ने बाबुतर्फ गगन तर्फ लागेँ । साँच्चिकै गगनजस्तै गम्भिर गगन । त्यो चंचलता । मेरो छेउमा थिए गगन । दिदीको कुरा सुनेरै भावुक बनीसकेका उनले पढाइ लेखाइ बताए । पढाई राम्रो भएको बताए । आमाले स्कुल लगेको, माम खुवाएको, चकलेट किनिदिएको इत्यादी सम्झेर उनी थप कारुणिक हुँदै थिए । कुराकानी कै शिलशिलामा अनि मैले सोधेँ । बाबु गगन मम्मीको याद कत्तिको आउँछ ? मैले यो प्रश्न नसोधेको भए पनि हुने । पछि त्यो घाउ बल्झाएर थप पीडा दिएँ कि भनेर आफैलाई ग्लानी भयो ।
बाबु भक्कानो फोरेर भक्कानिए । बुबा आमा दिदी रोएर त्यो बाबु नरुनु पर्ने तर त्यो बाबु यसरी भक्कानिए, हामी कसैले पनि आँसु थाम्न सकेनौँ । उनकी हजुरआमा पनि भक्कानिन थाल्नु भयो । बाबु रुन्चे बन्नुभयो । साथिहरु दिपक, बिमल उदयका आँखामा पनि आँशु आए । म स्तब्ध र निःशब्द थिएँ । सम्हालिन सकेनन बाबु । चाडपर्वमा बहुत सम्झने रहेछ । बाबुले आमा अनितालाई ।
जबरजस्त गगनले २०७५ साल फागनु ११ गते रातिको घटनाबारे सुनाए । ती हत्याराको बेलीविस्तार सुनाए । आमाको हत्यामा संलग्न बुबा भनिने र सबैलाई बाबु गगनले जन्मकैद भए मात्र आमाले शान्ति पाउने सुनाए । ५ बर्षमा आएको यो परिपक्वता देखेपछि अब आमाको सपना साकार पार्छन् गगनले भन्नेमा हामी आशाबादी रह्यौँ ।
बुबाले ती दोषीहरुमाथि अदालतमा भएको अपडेट सुनाउनु भयो, भाबुक हुँदै । अदालतमा मुद्धा चलिरहेकोमा उहाँले थप केही बोल्नु भएन तर हत्यारालाई उम्काउन खोजिए या कम सजाय गराउन खोजिए चुप नलाग्ने र यसलाई राष्ट्रियकरण गर्ने चेतावनी दिनु भयो । कानुन अनुसारको न्याय अदालतबाट नपाए प्रधामन्त्री केपी शर्मा ओलीसंग पुग्ने उहाँले सुनाउनुभयो ।
अनिताकी आमाले ती नाति–नातिनाको पालनपोषणको बारेमा बताउनु भयो । उहाँ त हामी पत्रकार हौँ भनेदेखि नै भावुक भइसक्नु भएको थियो । आफ्नी एक मात्र छोरीलाई सम्झेर उहाँले पनि डाँको छोड्नु भयो । उहाँले भन्नुभयो, ‘ती हत्यारालाई त हुनु पर्ने फाँसी हो, तर कानुनले दिँदैन, उनीहरुलाई जन्मकैद नै हुनुपर्दछ । यदि यो भएन भने छोरीले र यी बालकले न्याय पाउँदैनन् ।’
आर्थिक अवस्था सामान्य भए पनि नाति–नातिनीलाई स्थानीय बोर्डिङ स्कुलमै पढाएको बताउनु भयो । अरुबेला सम्हाले पनि दशैँजस्ता चाडबाड आउँदा ती नानुबाबुलाई सम्हाल्नै नसकिने बताउनु भयो । चाडबाड आउँदा एकोहोरिन्छन्, अनिताको फोटो छातीमा राखेर भकान्निन्छन्, रुन्छन् । कसरी सम्झाऔँ । कसरी भुलाऔँ । हामी पनि केटाकेटीजस्तै रुन बाध्य हुन्छौँ । चाडबाडमा साह्रै गाह्रो हुन्छ, भुलाउन, उहाँले भन्नुभयो ।
हामीले यसपटक अनिताका भाइसंग पनि कुरा गर्ने मौका पायौँ । उहाँले आफ्नी एकमात्र दिदीको हत्या भएपछि टुहुरोजस्तो बनेको सुनाउनु भयो । दिदीको न्यायको लागि मुटु दह्रो पारेर मिडिया फेस हुनुभएका भाइले तिहार, तीजजस्ता चाडबाड आउँदै मन थाम्न नसकिने बताउनु भयो । उहाँले पनि दिदीको हत्यारालाई कानुनबमोजिम अधिकतम कारबाही हुनुपर्ने बताउनु भयो । अहिले आमाको हत्या घटनालाई मानसपटलबाट हटाइदिन गगन र दिब्याको साथि बनेको उहाँले सुनाउनु भयो । यत्तिकैमा अनिताको मामा माइजु पनि आउनु भयो । उहाँहरु पनि भकान्निँदै हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्ने बताउनु भयो । उनीहरु उम्के यी साना केटाकेटी, अनिताजस्ता छोरी चेली, आफूहरु पनि असुरक्षामा रहने बताउनु भयो । अनिताका मामाले भन्नुभयो, ‘तिनीहरु कुख्यात डाँका हुन् । यस्तो जेलनेलले उनीहरुलाई केही पनि हुँदैन । सोर्सफोर्सले उम्काइयो भने तिनीहरुले हामीलाई पनि मार्छन् ।’
पाउन हामी केही गर्दैनौँ तर अनिताका बुबाले हजुरहरुको भूमिकाले आज हत्याराहरु कठघरमा छन् भन्दा औँधी खुसी भयौँ । र पेशा प्रति जिम्मेवारी महसुस भयो । अनिताका बुबाले धन्यबाद दिनुभयो । उहाँले हत्यारा पक्रन साथ दिने तत्कालिन प्रहरी प्रमुख, सिडिओ, पत्रकार सबैलाई धन्यबाद दिनुभयो । अब छिट्टै आफूहरुले न्याय पाउनेमा आशा राख्नु भयो ।
करिब डेढ बर्ष अघि अनिताको हत्या योजनावद्ध तरिकाले भएको थियो । बाणगंगा नगरपालिकाको वडा नम्बर ४ कुवेरापुरमा रहेको आफ्नै घरमा राति ११ बजेको समयमा टाउकोमा रड प्रहार गरी विभत्स तवरले हत्या भएको थियो । उनकै श्रीमान् र ज्वाइँको डिजाइनमा रचिएको षडयन्त्रले अनिताले २७ बर्षमै मृत्युवरण गरेकी थिइन् । उनी स्थानीय बोर्डिङ स्कुलमा पिएनको काम गरेर ती छोराछोरीको पालनपोषण गर्थिन् ।
अनिताका हत्यामा संलग्न ४ जना अहिले कारागार छन् । उनीहरुमाथि कर्तव्य ज्यान मुद्धामा अदालतमा बहस भइरहेको छ । अनिताको हत्यामा योजनाकारका रुपमा श्रीमान, अमाजु भिनाजु रहेका थिए भने दुई व्यक्तिलाई ७ लाखको बार्गेनिङ गरी खेताला खोजेर मकाइएको थियो ।
रातको समयमा विभत्स हत्या गर्ने ती हत्यारामाथि हदैसम्मको कारबाही हुनु पर्ने चौतर्फी माग र दबाब छ । यसको बाँकी भिडिओबाट थप सामग्री हेर्नुहोला ।
मायादेवी अनलाइनले हत्या भएपछि गरेका निरन्तर फ्लोअप समाचार ।
वर्थडे मनाउने धुमधाम थियो, एक्कासी गोली हानी भागे !
अनिता हत्याको प्रकृतिः फ्रुटीमा नशालु पदार्थ मिसाएर खुवाएपछि हत्या, कहिले पत्ता लाग्ला हत्यारा ?
अपडेटः अनिता पौडेलको हत्या कसरी भयो, कारण यस्तो छ ?
अनिता पौडेलको हत्यामा संलग्न कारागार चलान !
अनिता हत्या योजनाको खास खुलासा ? प्रहरीको अप्रेसन यसरी सफल भयो !
अनिताको हत्यामा ७ लाखको डिल, मासिक २५ हजारको जागिर दिने प्रलोभन !
अनिता दाहसंस्कारको त्यो मार्मिक पल, ‘अबोध बालबालिकाको संवादले सबै रोए’ !







प्रतिक्रिया