४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

सन्धिखर्क नगर कार्यालय सिल



अर्घाखाँची ।
जिल्लाको सन्धिखर्क नगरपालिका–८ का वडा अध्यक्ष ईश्वरीप्रसाद भुसालको कोरोना संक्रमणबाट मृत्यु भएपछि शोकको घडीमा सोमबारदेखि एक हप्ताको लागि सन्धिखर्क नगरपालिका कार्यालय बन्द गरिएको छ ।

सन्धिखर्क नगरपालिका ८ किमडाँडा घर भएका वडा अध्यक्ष भुसालको उपचारका क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा आइतबार मृत्यु भएको थियो। बिरामी परेपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएको ६१ वर्षीय वडा अध्यक्ष भुसालको अवस्था गम्भीर बनेपछि ५ दिनअघि हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो ।

नगर प्रमुख कमलप्रसाद भुसालको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकले नगर कार्यपालिकाको कार्यालय तथा १२ वटै वडा कार्यालयका अत्यावश्यक बाहेकका सम्पूर्ण काम श्रावण १७ गतेसम्म बन्द गर्ने तथा सबै वडा र नगरमा १३ दिनसम्म शोकपुस्तिका राख्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।

उता, वडा अध्यक्ष ईश्वरीप्रसाद भुसालको निधनले पार्टीमा ठूलो क्षति भएको भन्दै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले शोकको घडीमा ३ दिनसम्म जिल्लाका ६१ ओटै वडाहरू तथा ६ वटा स्थानीय तहमा कुनै औपचारिक कार्यक्रमको आयोजना नगर्ने, जिल्लास्थित पार्टीका कार्यालयहरूमा तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने र १३ दिनसम्म जिल्ला पार्टी कार्यालयमा शोकपुस्तिका राखि मृतक भुसाल प्रति शोक श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८ मंगलबार ००:००  ८ : १३ बजे