१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

शिक्षा कार्यलय कपिलवस्तुद्धारा कामको नतिजा सार्वजनिक



कपिलवस्तु ८ साउन ।
जिल्ला शिक्षा कार्यालय कपिलबस्तुले गत आर्थिक बर्षमा गरेका कामको नतिजा आइतबार एक कार्यक्रमका विच सार्वजनिक गरेको छ । जस अनुसार शैक्षिक गुणस्तर अभिबृद्धिमा उल्लेख्य प्रगति हासिंल हुन नसके पनि जिल्लामा ५५ वटा सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेको, ७० वटा विद्यालय बालमैत्री घोषणा भएको र ८ वटा विद्यालयमा जिवन उपयोगी प्राविधिक शिक्षा संचालन भएको लगाएतका काम उपलब्धीपूर्ण रहेको तथ्य सार्वजनिक गरेको छ ।
जिल्लाका संचारकर्मीहरु विच शिक्षा कार्यालयको शैक्षिक प्रगति प्रस्तुत गर्दै सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम भट्टराईले कपिलबस्तको शैक्षिक शिकाई उपलब्धी ५१ प्रतिशत मात्र हुनु, सुचना प्रविधियुक्त विद्यालय संचालनमा नआउनु, ७ सय बढी शिक्षक दरबन्दी अपुग रहनु, मदरसा शिक्षा व्यवस्थीत हुन नसक्नु, नगरपालिका तथा गाउपालिकाहरु पुर्ण साक्षर घोषणा हुन नसक्नु, किशोर किशोरीमा समय सापेक्ष शिक्षाको अभाव रहनु जस्ता सुचकहरु शैक्षिक क्षेत्रका समस्याका रुपमा रहेको बताउनुभयो ।
उहाले साविकका २३ वटा गाविसमा अझै पनि मावि तहको विद्यालय नरहेको बताउदै राज्यले तोकेको शिक्षक विद्यार्थी अनुपात १ बराबर ५० भएपनि जिल्लाको सरदर अनुपात ६५ बराबर १ देखिएको स्पष्ट पार्नु भयो ।
७ सय ६२ शिक्षकको दरबन्दी तत्काल आवश्यक रहेको उहाको भनाई छ । जिल्लामा अहिले पनि १ सय ४ वटा विद्यायमा कुनैपनि सरकारी दरबन्दी छैन भने ५० वटा संस्थागत विद्यालयले राज्यबाट बार्षिक रुपमा १ रुपैया पनि अनुदान पाउन सकेका छैनन् ।
कपिलबस्तुमा गत आर्थिक वर्षमा निकासा भई आएको ५४ करोड ६३ लाख मध्ये ४८ करोड ५२ लाख खर्च भएको र ६ करोड ५० लाख बढी बजेट फ्रिज भएको सो अवसरमा सहायक जिसिअ सूर्य प्रसाद भुषालले जानकारी दिनुभयो ।
उहाले ५ वटा विद्यालय नमुना बनाउने गरी आएको एक करोड बढी रकम खर्च हुन नसकेको बताउनु भयोे । बालबालिकाका लागी आएको पोषण युक्त दिवा खाजाको ९८ लाख, ८ कक्षा पास गरेका विपन्नलाई आवास सहितको सुविधामा पढाउन निकासा भएको ८ लाख, द्धन्द्ध पिडित बालबालिकाको छात्रवृत्ति ७ लाख समेत फ्रिज भएको स्पष्ट पार्नु भयो ।
कार्यक्रममा पत्रकारहरुका जिज्ञासालाई सम्बोधन गर्दै निमित्त जिल्ला शिक्षा अधिकारी थानेश्वर ज्ञवालीले जिल्लाको शैक्षिक गुणस्तर सुधार गर्न बालबालिकाको विद्यालय उपस्थिती हुने दरलाई उच्च पार्नु पर्ने बताउनु भयो । जिल्लामा ५८ हजार छात्रा, ५६ हजार छात्रहरुले अध्ययन गरिरहेको जानकारी दिदै विद्यालयहरुलाई ब्यवस्थित पार्न शिक्षा कार्यलयले गर्ने अनुगमन प्रभावकारी तुल्याउन प्रयास गरिएको बताउनु भयो ।
सो कार्यक्रममा एक वर्ष भित्र भएको भौतिक प्रगतीको विषयमा ईञ्जिनियर रविन्द्र त्रिपाठीले प्रकास पार्नु भएको थियो । जसअनुसार १७ करोड ६३ लाख बजेट गत आर्थिक वर्षमा भौतिक विकासमा खर्च भएको स्पष्ट पार्नु भयो ।
नया कक्षा कोठा १ सय २४ वटा बनेको, ब्लक ६२ वटा बनेको, १० वटा छात्रा शौचालय निर्माण भएको लगाएतका प्रगतीको उहाले जानकारी दिनुभयो । सो कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष भेषराज पाण्डेले प्रस्तुत प्रतिवेदनले शिक्षाका जिम्मेवार अधिकारीहरुले अपेक्षाकृत काम गर्न नसकेको स्पष्ट पारेको भन्दै शिक्षा कार्यलय थप जिम्मेवार र संचारमैत्री बन्नुपर्ने सुझाव दिनुभयो ।
पूर्व अध्यक्ष मनोज पौडेल, कपिलवस्तु शाखाका सचिव हरि अधिकारी, पत्रकार बनारसी वर्मा, विकास बञ्जाडे लगाएत एक दर्जन बढी संचारकर्मीहरुको सो कार्यक्रममा उपस्थिती थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७४ सोमबार ००:००  ११ : ५१ बजे