१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

चन्द्रौटामा प्रथम नगरस्तरीय सरसफाई सम्मेलन



सीताराम चौधरी, चन्द्रौटा, १० साउन ।
सरसफाई आफैंबाट शुरुवात गरे सिंगो नगरलाई सरसफाई उन्मुख नगर बनाउन सकिने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जोड दिनुभएको छ ।
शिवराज नगरपालिका र खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालय, कपिलवस्तु÷यूनिसेफ नेपालको संयुक्त आयोजनामा सम्पन्न प्रथम नगरस्तरीय सरसफाई सम्मेलनलाई उद्घाटन गर्दै प्रजिअ ढकालले यस्तो बताउनुभएको हो । कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै प्रजिअ ढकालले सरसफाई आफू र आफ्नो घरबाट शुरुवात गरे मात्र समाज परिवर्तन गर्न सकिने जिकिर गर्नुभयो ।
घरभित्रको फोहर घरभित्रै व्यवस्थापन गर्न सकिने बताउँदै प्रजिअ ढकालले भन्नुभयो – “घरभित्रबाट निस्किएका कुहिने फोहर वस्तुलाई कम्पोष्ट मल बनाएर शुद्ध तरकारी फलाउन सकिन्छ ।” कार्यक्रममा बोल्दै उहाँले नगरलाई सरसफाई मुक्त बनाउन मुख्य तीन कुरामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । फोहर रोकथाम, प्रचारात्मक कार्यक्रम र कानुनलाई दण्डनीय बनाउन सके शिवराजलाई नमूना नगरको रुपमा अगाडि बढाउन सकिने प्रजिअ ढकालले स्पष्ट पार्नुभयो । “नगरलाई स्वच्छ, सफासुग्घर र हराभरा नगर बनाउन व्यक्तिको आचरण र सभ्यतामा सुधार ल्याउन आवश्यक छ”, प्रजिअ ढकालले भन्नुभयो ।
शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले सन् २०१७ भित्र सिंगो नगरलाई खुला दिसामुक्त र सरसफाई उन्मुख नगर बनाउन नगर सम्मेलनबाट अभियानको थालनी गरेको बताउनुभयो । जनमतले आफूलाई नेतृत्व प्रदान गरेपनि सबैको सहयोग विना नगरको विकास सम्भव नभएको नगरप्रमुख अधिकारीले भन्नुभयो । कार्यक्रममा नगर उपप्रमुख शिवकुमारी चौधरीले सबै नगरबासीहरुको सहयोग रहेमा आफूहरु काम गरेर देखाउने प्रतिबद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपाने, शिवराज नगरपालिकाका कार्यकारी अधिकृत शेषकान्त पौडेल लगायतले नगरलाई समयभित्रै खुलादिसामुक्त र सरसफाई उन्मुख नगर बनाउन अभियानमा तिब्रता दिनुपर्नेमा जोड दिनुभएको थियो । कार्यकारी अधिकृत पौडेलले नगरका तीनवटा वडाहरु ९, १० र ११ यसअघि नै खुला दिसामुक्त घोषणा भइसकेको जानकारी दिनुभयो । खुला दिसामुक्त घोषणा भएका वडाहरुमा वडा नं. ९ मा साविक शिवगढी गाविस, वडा १० मा पर्ने साविकको लालपुर गाविस र वडा ११ मा पर्ने साविकको थुन्हिया गाविस रहेको उहाँले जनाउनुभयो ।
उद्घाटन सत्रपछि यूनिसेफका वास अफिसर बोधनारायण श्रेष्ठ सहितको टोलीले सरसफाई सम्मेलनको औचित्य, सरसफाईको गुरु योजना, शिवराज नगरको खानेपानी तथा सरसफाईको अवस्था लगायतका सवालमा सहजीकरण गरेको बताइएको छ । कार्यक्रममा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरु, राजनीतिक दल, संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, शिक्षाप्रेमी, अधिकारकर्मी, अभियानकर्मी लगायतको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७४ मंगलबार ००:००  १२ : १५ बजे