१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

कृष्णनगर भन्सार इतिहासमै बढी राजश्व संकलन गर्न सफल



कपिलवस्तु साउन ११ ।
इतिहासमै बढी राजश्व संकलन गरेर कृष्णनगर भन्सार कार्यलयले यसपालि इतिहास रचेको छ । आर्थिक बर्ष २०७३÷०७४ मा २ अर्व ३७ करोड राजश्व उठाउने लक्ष्य राखेको भन्सार कार्यलयले ३ अर्व १ करोड राजश्व उठाउन सफल भएको छ । कृष्णनगर भन्सार कार्यलयले यसपालि लक्ष्य भन्दा ६४ करोड बढी राजश्व उठाउन सफल भएको भन्सार कार्यलयका प्रमुख विन्देश्वर प्रसाद लेखकले जानकारी दिनुभएको छ ।
आर्थिक बर्ष २०७२÷०७३ मा २ अर्व ४४ करोड राजश्व संकलन गर्ने लक्ष्य भएपनि कार्यलयले २ अर्व ७१ करोड राजश्व उठाउन सफल भएको थियो । तर त्यस बेला भारतले नेपाल माथि नाकाबन्दी गरेको कारण विरगञ्ज, सुनौली नाकाबाट नेपाल भित्रने मालसमानहरु कृष्णनगर नाकाबाट भित्रिएका थिए । त्यसले गर्दा आर्थिक बर्ष २०७२÷०७३ मा राजश्व संकलनमा बृद्धि भएको थियो ।
गत आर्थिक बर्षको शुरुवाती चरणमा भन्सार कार्यलयलाई १ अर्व ६१ करोडको राजश्व संकलन गर्ने लक्ष्य दिइएको थियो । तर यो लक्ष्यलाई कार्यलयले फाल्गुण मसान्त सम्ममा पुरा गरेको थिए । फाल्गुण देखि असार मसान्त सम्ममा ७६ करोड राजश्व संकलन गर्ने कार्यलयले लक्ष्य पाएको थियो । यि दुई वटै लक्ष्यलाई भन्सार कार्यलयले पुरा गरेको भन्सार प्रमुख लेखकले बताउनुभयो ।
बढ्दो चोरी निकासी पैठारीको नियन्त्रण, फर्म क्षेत्रको निगरानी तथा नियमित गस्ति परिचालनको कारण राजश्व संकलनमा सफलता हात पार्न सफल भएको भन्सार प्रमुख लेखक बताउनुहुन्छ । साथै अन्तर भन्सार सूचना आदान प्रदान, सरोकारवाला संगको नियमित छलफल, द्धन्द्धकाल देखि बन्द रहेको छोटी भन्सार सुचारु लगायत कारणले पनि राजश्व संकलनमा बृद्धि भएको उहाले बताउनुभयो ।
भन्सार कार्यलयका अनुसार भन्सार राजश्व १ अर्व ९४ करोड, मुल्य अभिबृद्धिकर १ अर्व ४ करोड र अन्तशुल्क २ करोड ६९ लाख सम्म राजश्व उठेको छ । भन्सार कार्यलय स्थापना देखि नै यसबर्ष बढी राजश्व उठाउन सफल भएको कार्यलयले जनाएको छ । नेपालका प्रमुख भन्सार कार्यलय मध्ये मध्ये कृष्णनगर भन्सार कार्यलय पनि एक हो । यस नाकाबाट सिमेन्टका कच्चा पदार्थ, खसी बोका, कोइला, फलफूल, अन्नपात र लत्ता कपडा भित्रने गर्दछ ।

प्रकाशित मिति : ११ श्रावण २०७४ बुधबार ००:००  १ : ४७ बजे