१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

आंशिक शिक्षकको माग कस्ले सुन्ने ? मङ्गलबार देखि अनसनमा



काठमाडौँ, साउन ११ ।
त्रिभुवन विश्वविद्यालयमा बौद्धिक शोषणको अन्त्य र तत्काल करारको माग गर्दै आन्दोलनरत नेपाल आंशिक प्राध्यापक संघले मंगलबार देखि रिले अनसन सुरु गरेको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय अगाडि शुरु अनसनको पहिलो दिन नेपाल आंशिक प्राध्यापक संघका अध्यक्ष शशीकुमार शर्मा, सहअध्यक्ष नरेन्द्र प्रसाद भण्डारी लगायतका केन्द्रीय पदाधिकारीहरूले भाग लिएका छन् ।
अनसनमा पालैपालो सबै क्याम्पसका आंशिक प्राध्यापकहरूले भाग लिने संघले जनाएको छ । अनसन साउन २२ गतेसम्म सञ्चालन हुने छ । त्यतिञ्जेलसम्म पनि त्रिभुवन विश्वविद्यालयले आंशिक प्राध्यापकहरूका माग पूरा नगरे अझै कडा आन्दोलन गर्ने चेतावनी संघले दिएको छ ।

नेपाल आंशिक प्राध्यापक संघले पछिल्लोपटक गएको चैतदेखि विभिन्न आन्दोलन गर्दै आएको छ । सोमबार राजधानीमा सम्पन्न संघको राष्ट्रिय भेलाले रिले अनसन गर्ने निर्णय गरेको थियो ।
आंशिक प्राध्यापकको ब्यवस्थापन तथा प्राज्ञिक क्षेत्रमा भइरहेको बौद्धिक शोषण अन्त्य गर्न माग गर्दै यस अघि गत असार २३ गते उनीहरुले उपकुलपति प्रा. डा. तिर्थ खनियासहित सवै कार्यकारी र कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउँदै धर्ना समेत दिएका थिए ।
बर्षौदेखि प्राध्यापन गराईरहेका आंशिक प्राध्यापकलाई नाम मात्रको पारिश्रमिक दिएर त्रिभुवन विश्वविद्यालयले बौद्धिक शोषण गरिरहेको र समस्या समाधानका लागि प्रभावकारी अग्रसरता नलिएकाले आन्दोलन गर्नुपरेको संघका महासचिव केशव चन्दले बताए ।
यस अघि गत जेठ २ गते पत्रकार सम्मेलन गरेर आँशिक प्राध्यापकहरुले आफूहरुसँग विगतमा भएका सहमती कार्यान्वयन गरी करारमा नियुक्ति गर्न माग गरेका थिए ।
आफूहरुलाई स्वतः स्थायीको माग गरेको भन्दै त्रिविले गलत प्रचार गरेको भन्दै संघका अध्यक्ष शशी कुमार शर्माले आफूहरु विज्ञापनमा भाग लिन तयार रहे पनि विश्वविद्यालय आफ्ना समस्या प्रति गम्भिर नभएर आलटाल गरेको आरोप लगाए । ६ – ६ महिनामा विज्ञापन खोलेर जारी समस्या समाधान गर्न सकिने संघले विकल्प दिएको छ ।
विगतमा भएका सहमतीहरुको कार्यान्वयन नभएपछि संघले विना सर्त करारमा नियुक्ति गर्नु पर्ने, त्रिवि सभाले गत बर्ष पुस २० गते गरेको सेवा प्रवेश विन्दु, र सहायक प्राध्यापक बनाउने निर्णय खारेजी, सम्मानित वातावरणमा विद्यार्थीले पढ्न र आफूहरुले पढाउन पाउनु पर्ने र विगतका सहमती कार्यान्वयन गर्द विश्वविद्यालयका बेथीति अन्त्य तथा शैक्षिक क्यालेण्डरको पालना गर्न माग गरेको छ ।

त्रिविको कूल ८० प्रतिशत भार आफूहरुले बहन गरे पनि आफूहरु प्रति विभेद भएको संघको आरोप छ । उनीहरुले प्रति पिरियड २ सय २० रुपैंया बुझ्दै आएका छन् ।

यस अघि २०६३ साल भदौ ६ गते संघ र सरकार विच कम्तिमा एक शैक्षिक सत्र निरन्तर प्राध्यापन गरेका आँशिक प्राध्यापकहरुलाई दरबन्दी सहितको करारमा नियुक्ति गर्ने सम्झौता भएको थियो ।

यस्तै २०६५ साल असोज २१ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले गठन गरेको श्रम तथा यातायात ब्यवस्था मन्त्री लेखराज भट्ट नेतृत्वको वार्ता टोलीसँग भएको सहमती अनुसार समस्या समाधान गर्न त्रिविलाई निर्देशन दिईएको थियो । २०६६ साल भदौ १६ देखि ३१ गते सम्म भएको आमरण अनसन लगायतका विरोधका कार्यक्रम पश्चात संघ सँग एक हप्ता भित्र करारमा नियुक्ति गर्ने सहमती भएको थियो ।

त्रिवि अन्र्तगत सञ्चालित ६० आँगिक क्याम्पसमा १२ सय आँशिक प्राध्यापक रहेको संघको दावि छ ।

प्रकाशित मिति : ११ श्रावण २०७४ बुधबार ००:००  १ : ५३ बजे