२७ बैशाख २०८१, बिहिबार | Thu May 9 2024

सिंहदरबार भित्रै अस्थायी शिक्षकको धर्ना



काठमाडौं, १२ साउन ।
अस्थायी शिक्षकहरूले आफूहरूसँग यसअघि भएका सम्झौता कार्यान्वयन गराउन बुधबार शिक्षा मन्त्रालयमा धर्ना दिएका छन् ।
शिक्षक सेवा आयोगले लिने परीक्षामा असफल भए पनि सुविधा दिने व्यवस्था गराउन शिक्षा ऐन संशोधन गर्ने भनी शिक्षा मन्त्रालय र शिक्षकहरूबीच सम्झौता भएको स्मरण गराउँदै उनीहरूले कार्यान्वयनका लागि दबाब दिइरहेका छन् । परीक्षामा असफल भए पनि सुविधा दिनुपर्ने माग राखेर अस्थायी शिक्षक अनशन बसेका थिए। अनशन तोडाउन मन्त्रालयले असार ९ मा ऐन संशोधन प्रक्रिया अघि बढाउने सम्झौता गरेको थियो । सम्झौता अनुसार शिक्षाले कानुन र अर्थ मन्त्रालयमा सहमतिका लागि पठाए पनि अर्थले अस्वीकार गरेको छ । अर्थले सहमति दिन नसकिने पत्र शिक्षालाई पठाएपछि अस्थायी शिक्षकहरू सम्झौता कार्यान्वयनप्रति सशंकित छन् ।
गत वर्ष असारमा संशोधन भएको शिक्षा ऐनमा अस्थायी शिक्षकलाई परीक्षा अथवा सेवासुविधा रोज्ने मौका दिइएको थियो । मन्त्रालयले बिहीबार उनीहरूलाई छलफलका लागि बोलाएको छ । आयोगले ऐनअनुसार १९ हजार २ सय ६५ दरबन्दीमा विज्ञापन गरे पनि १५ हजार ६ सय ९७ ले मात्र परीक्षामा सहभागी हुन आवेदन गरेका छन् । ३ हजार ५ सय ६८ जनाले सुविधा लिएर बाहिरिने निवेदन शिक्षा कार्यालयमा दिइसकेका छन् । आयोगले भदौ ३ गते परीक्षा तोकेको छ । अर्थले अस्वीकार गरेका कारण असफल भए पनि सुविधा दिने गरी ऐन संशोधन हुने सम्भावना कम छ ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रकाशित मिति : १२ श्रावण २०७४ बिहिबार ००:००  २ : ५० बजे