८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नागपञ्चमी र रक्षाबन्धन आज



काठमाडौँ, साउन १३ गते ।  श्रावण शुक्ल पञ्चमीका दिन शुक्रबार नागको पूजा गरेर नाग पञ्चमी मनाइँदै छ ।  यो वर्ष रक्षाबन्धनका दिन चन्द्रग्रहण परेकोले रक्षाबन्धन पनि यसै दिन हुँदैछ ।
वर्षाले गलेको जमिनबाट ओभानोमा आएर नागले विचरण गर्ने भएकाले पनि नाग÷सर्प जस्ता विषालु जलचरको आक्रमणबाट जोगिन यस प्रकारको होसियारी अपनाइएको हो भनिन्छ ।  शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कट, शङ्ख, पद्म र महापद्म गरी आठ प्रकारका नागको विशिष्टताको वर्णन गरिएको छ ।
यिनै नागको तस्बिर घरको मूल ढोकामा टाँसेर र कपासको नाग बनाएर यो दिन दुबोे, दूध र अबिर–क्षताले नागको अर्चना गर्दै कपुरको धूपधुवार गर्ने प्रचलन छ ।  ज्योतिष डा. सुनिल सिटौलाका अनुसार जन्मकुण्डलीमा सर्पदोष भएका र काल सर्पयोग परेका व्यक्तिले यो दिन नागको अर्चना गर्दा वर्ष दिनका लागि दोष टर्छ भन्ने ज्योतिषविद्यामा वर्णन गरिएको छ ।
काठमाडौँ, भचाखुसीको घोडेनाग, टुँडिखेलको मीननाग, गल्कोपाखा दक्षिण ठमेलको हरिनाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, थानकोटपारि नागढुङ्गा, धापाखेलको नागदह, नक्सालको नागपोखरी, टौदह, पशुपतिनाथको आभूषण वासुकीनाग, महाराजगन्जको नागपोखरी र चाँगुनारायण नगरपालिका वडा नं ८ कलमसीस्थित पाँचटाउके कल्पेश्वरनागमा यो दिन भक्तजनको भीड लाग्छ ।  कल्पेश्वरनागछेउ यसै दिन १०८ फिट अग्लो महादेवको मूर्ति स्थापना गरिँदैछ ।  वडाध्यक्ष परासर सापकोटाका अनुसार यो दिन यहाँ नागको भव्य पूजा हुन्छ ।
नक्साल युवामण्डल आबद्ध समाजसेवी पवन तण्डुकारका अनुसार स्थानीय युवाले नक्साल नागपोखरीमा नागको पूजनोत्सव आयोजना गरेका छन् ।  यस पटक जनैपूर्णिमाका दिन ग्रहण परेकोले शुक्रबारै तागाधारीले रक्षाबन्धन गरेर जनै फेर्दै छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले नागपञ्चमीकै दिन रक्षाबन्धन गर्ने र जनै फेर्ने उपयुक्त समय ठहर गरेकाले तागाधारीहरू बिहीबार केश मुन्डन गर्दै एकछाके रहे ।  पशुपतिनाथलाई भने साउन शुक्ल पूर्णिमाको अघिल्लो दिन जनै फेराइने भएको छ ।  यो दिन ग्रहण नपरेकाले अघिल्लो दिन नाथलाई जनै फेराइने भएको बिशेट (नाथका निकटतम सेवक) अरुण श्रेष्ठले जानकारी दिनुभएको छ ।
जनै फेराएपछि नाथ गोसाईकुण्ड जानुहुन्छ भनिन्छ, जनै फेरेर ग्रहण सकिएपछि मात्र पशुपतिनाथ फर्किनु हुनेछ र साउन २४ गतेदेखि नाथको नित्य पूजा हुनेछ ।  पशुपतिनाथका सबै सेवकलाई जनै पूर्णिमाको अवसरमा साउन २१ गते नै केश मुण्डन गरी चोखो रहन भनिएको छ ।
नागपञ्चमीकै दिन तागाधारीले जनै फेर्ने भए पनि नेवार समुदायमा क्वाँटी पुन्ही भनेर साउन शुक्ल पूर्णिमाको चन्द्रग्रहणअगावै क्वाँटी खाने तयारी भएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७४ शुक्रबार ००:००  १ : १८ बजे