७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

फेरि आमरण अनशन बस्दै अस्थायी शिक्षक



काठमाडौं, साउन १३ – शिक्षा मन्त्रालय र अस्थायी शिक्षक संघर्ष समितिबिच भएको सहमति पालना नभएको भन्दै अस्थायी शिक्षकले पुनः आमरण अनशन थाल्ने भएका छन् । गएको असार ९ गते शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र अस्थायी शिक्षक संघर्ष समितिबीच चार बुँदे सहमति भएको थियो ।

समितिका अध्यक्ष होमनाथ चौलागाईंले सहमति कार्यान्वयनका लागि शिक्षा ऐनमा नवौँं संशोधन गरिनुपर्ने, ऐन संशोधन भएको ४५ दिनसम्म शिक्षकको विज्ञापन नखोल्ने सुनिश्चितताका लागि यही साउन १८ गतेबाट भद्रकालीमा अनशन बस्ने निर्णय गरिएको बताउनुभयो ।

सहमतिअनुसार कानुन संशोधनपछि मात्र शिक्षकको परीक्षा हुनुपर्ने समितिको माग छ । महासंघले भने शिक्षक सेवा आयोगले यसअघि तय गरेको आगामी भदौ ३ गतेको शिक्षकको परीक्षा रोक्न नहुने बताउँदै आएको छ । अध्यक्ष चौलागाईंले आफूहरुको हितविरुद्ध निर्णय गरेकाले महासंघका पदाधिकारीको राजीनामा पनि आन्दोलनको विषय हुने जनाउनुभयो ।

चार बुँदे सहमतिबमोजिम संवत् २०६१ साउन २२ देखि २०७२ असोज २ गतेसम्मको कुल रिक्त दरबन्दीको ४९ प्रतिशतमा आन्तरिक र ५१ प्रतिशत खुल्ला तर्फ विज्ञापन गर्ने विषयमा आन्तरिकतर्फको विज्ञापनमा पद संख्या समायोजन (अनुपात मिलान) गरिने उल्लेख थियो । हाल २६ हजार १५१ शिक्षक दरबन्दी रिक्त छ । रासस

प्रकाशित मिति : १३ श्रावण २०७४ शुक्रबार ००:००  ७ : ३९ बजे