११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

कार्यालय सहयोगीले पढाउनुपर्ने बाध्यता



मायादेवी समाचार, सोलुखुम्बु, १४ साउन ।
जिल्लाको कर्णाली भनेर चिनिने महाकुलुङ गाउँपालिका–४ मा रहेको एक विद्यालयमा कक्षासँगै विद्यार्थी संख्याको अनुपातमा शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ ।
कक्षा ८ सम्म सञ्चालित वासुकी आधारभूत विद्यालयमा ३६२ विद्यार्थीलाई पाँच शिक्षकले पढाउनु परेको छ । हिमाली जिल्ला सोलुखुम्बुमा एक शिक्षक बराबर ३० विद्यार्थी संख्या पर्ने भए पनि यहाँ एक शिक्षकको भागमा ७२ विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता छ ।
विद्यालयमा इसिडी (पूर्वबाल विकास) सहित छ जनाको दरबन्दी छ । स्थायी चार तथा राहत इसिडी र कार्यालय सहयोगी एक एक गरी सात जना हुनुपर्नेमा शिक्षक चक्रबहादुर राई सात वर्षदेखि काजमा हुनुुहुन्छ । गाउँपालिकाको सुविधासम्पन्न विद्यालयका रुपमा चिनिने वीरेन्द्रज्योति मावि, सोताङमा काज सरुवा भए पनि फिर्ता नहुँदा पठनपाठनमा थप समस्या भएको विद्यालयका प्रअ खड्गबहादुर राईले बताउनुभयो ।
रिड नेपालले शैक्षिक गुणस्तर वृद्धिका लागि कार्यक्रम सञ्चालन गरेसँगै जिल्लामा निरन्तर विद्यार्थी मूल्यांकन प्रणालीमा क्षमता मापन गरिन्छ । प्रअ राई भन्नुहुन्छ, “शिक्षक अभावका कारण नियमित मूल्यांकन र शिक्षण सामग्री तयार पार्न समेत चुनौती छ ।”
विद्यालयमा शिक्षक दरबन्दी थप गर्न जिल्ला शिक्षा कार्यालयमा बारम्बार आग्रह गरिए पनि शिक्षा कार्यालयले चासो नदिएको प्रअ राईले गुनासो गर्नुभयो । भौगोलिक विकटताका कारण नजिकमा विद्यालय नहुँदा विद्यालय क्षेत्रका विद्यार्थीको संख्या अत्यधिक भए पनि बाध्यताले बालबच्चालाई त्यही विद्यालयमा अध्यापन गराइएको अभिभावक तारा कुलुङले बताउनुभयो । शिक्षक अभावका कारण कार्यालय सहयोगीले समेत पढाइरहेका छन् । रासस

प्रकाशित मिति : १४ श्रावण २०७४ शनिबार ००:००  ४ : ५६ बजे