११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

नव नियुत्त कृषि मन्त्री यादबले दिए यस्तो निर्देशन



मायादेवी, काठमाडौं, १४ साउन ।
नव नियुक्त कृषिमन्त्री रामकृष्ण यादबले सुख्खाबाट पीडित भएका किसानलाई राहत कार्यक्रम उपलब्ध गराउन निर्देशन दिएका छन् । शुक्रबार मन्त्री यादबको संयोजकत्वमा बसेको आपातकालिन बैठकले तराईका जिल्लामा देखिएको सुख्खा र पीडित किसानलाई सम्बोधन हुने गरी कार्यक्रम तयार पार्न मन्त्रालयका अधिकारीलाई निर्देशन दिएका हुन् ।
मन्त्री यादबले सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहठ, बारा, पर्सा र बाँके लगायतका क्षेत्रमा देखा परेको सुख्खाका कारण स्थानीय किसानले धान रोपाई गर्न नसकेको र रोपाई भएको खेत पनि सिंचाईको अभावमा सुक्दै गएको जानकारी दिए । मन्त्री यादबले अकाशे पानीका कारण किसानले भोगेको समस्या समाधानका लागि प्रभावित जिल्लाका कृषि विकास कार्यालय, स्थानीय प्रशासन कार्यालय, कार्यालय प्रमुख, किसान र बिज्ञसहितको सर्वपक्षिय बैठक राख्न निर्देशन पनि दिएका छन् । यस्तो सर्वपक्षिय बैठकबाट आएको निश्कर्षसहितको सुझाव ३ दिनभित्र मन्त्रालयमा उपलब्ध गराउन अधिकारीहरुलाई निर्देशन दिए ।
मन्त्री यादबले सुख्खाग्रस्त क्षेत्रमा कृषि विकास मन्त्रालयको केन्द्रिय अनुगमन टोली परिचालन गरी यर्थाथ जानकारी लिएर सात दिनभित्रमा प्रतिवेदन उपलब्ध गराउन पनि निर्देशन दिएका छन् । यसका लागि मन्त्रालयका बरिष्ठ कृषि प्रसार अधिकृत रवीन्द्र सुवेदीको संयोजकत्वमा चार सदस्यीय अनुगमन टोली गठन गरिएको छ ।
यस्तै सुख्खा प्रभावित क्षेत्रका किसानलाई तत्कालिन, मध्यकालिन र दीर्घकालिन रुपमा राहत कार्यक्रम उपलब्ध गराउन आठ सदस्यीय कार्यदल पनि गठन गरिएको छ । मन्त्रालयका सहसचिब डा.योगेन्द्रकुमार कार्कीको संयोजकत्वमा यस्तो कार्यदल गठन गरिएको हो ।

 

प्रकाशित मिति : १४ श्रावण २०७४ शनिबार ००:००  ५ : ३२ बजे