१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

खडेरीले विजोग, पूर्वाञ्चलमा ५१ प्रतिशत मात्रै रोपाइँ



मायादेवी, काठमाडौं, १४ साउन ।
मध्य साउनसम्म पनि पर्याप्त वर्षा नभएपछि पूर्वमा गत वर्षको तुलनामा न्यून रोपाइँ भएको छ। पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका अनुसार हालसम्म पूर्वमा ५१ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । पोहोर यो बेलासम्ममा ६७ प्रतिशत रोपाइँ सकिएको थियो ।
तत्काल वर्षा नभए पूर्वाञ्चलको धान उत्पादन पोहोरको तुलनामा २५ प्रतिशतले घट्ने अनुमान अधिकारीहरुको छ। वर्षा नै नभएपछि रोपाइँको चटारो हुने समयमा पनि सिँचाइ सुविधा नभएका स्थानका किसान फुर्स्दिला छन् । मानो रोपेर मुरी उब्जाउने सिजनमै फुर्सद भएपछि अनिकाल लाग्ने चिन्ताले किसानलाई सताउन थालेको छ । सिँचाइ सुविधा भएका ठाउँमा किसानले जेनतेन रोपाइँ गरिरहे पनि अकासे पानीमा भर पर्नुपर्ने ठाउँका किसान आकाश हेरेरै दिन बिताउन बाध्य छन् ।
मोरङमा ४० प्रतिशत मात्रै रोपाइँ सकिएको छ। मोरङमा ७८ हजार हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ । सोमध्ये हालसम्म ३१ हजार हेक्टरमा मात्रै रोपाइँ सकिएको छ ।
पूर्वका अन्य जिल्लामा पनि यो वर्ष धान रोपाइँको अवस्था उस्तै छ । लामो समय खडेरी परेकाले रोपाइँ प्रभावित भएको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ । निर्देशनालयका अनुसार पूर्वका उच्च पहाडी क्षेत्रमा धान रोपाइँ हुने सिजन सकिएको छ ।
मध्यपहाडी क्षेत्र र तराईमा धमाधम रोपाइँ हुनुपर्ने भए पनि वर्षा नहुँदा यसको गति सुस्त छ। हालसम्म पूर्वको ताप्लेजुङ र सोलुमा सबैभन्दा बढी ८५ प्रतिशत रोपाइँ सकिएको छ । पाँचथर, तेह्रथुम र खोटाङमा ८० प्रतिशत सकिएको छ। भोजपुरमा ७५, ओखलढुंगामा ७०, झापामा ६२ प्रतिशत रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।
संखुवासभामा ५०, इलाममा ५२, धनकुटामा ३५, उदयपुरमा ४०, सुनसरीमा ५५ र सप्तरीमा ४० प्रतिशत सकिएको छ । पूर्वमा सबैभन्दा कम रोपाइँ सिराहामा भएको छ । त्यहाँ हालसम्म २५ प्रतिशत मात्रै सकिएको छ ।
साउनको दोस्रो सातासम्म पनि पर्याप्त वर्षा नभएपछि रोपाइँ प्रभावित हुनुका साथै ब्याडमै बीउ सुक्ने र रोपेको धान पनि सुक्ने समस्या देखिन थालेको छ । तत्कालै पर्याप्त वर्षा नभए पूर्वमा गत वर्षको तुलनामा २५ प्रतिशतभन्दा बढीले धान उत्पादनमा ह्रास आउन सक्ने निर्देशनालयको अनुमान छ । निर्देशनालयका अनुसार पूर्वमा धान रोपाइँ हुने कुल चार लाख ७८ हजार हेक्टर क्षेत्रफलमध्ये हालसम्म दुई लाख ४३ हजार हेक्टरमा मात्रै रोपाइँ सकिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७४ शनिबार ००:००  ५ : ३७ बजे